उपत्यकाको धुवाँधुलो हटाउन प्रधानमन्त्री कार्यालयको सक्रियता


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको वायुप्रदुषण नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयले सरोकारवालालाई डाकेर उपत्यकामा फैलिएको धुवाँधुलो नियन्त्रण गर्ने गरी काम अघि बढाउन निर्देश दिएको छ ।

वायुप्रदुषण नियन्त्रण गर्ने कार्ययोजना कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री कार्यालयले एक कमिटी गठन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले ट्राफिक प्रहरी, यातायात विभागका प्रतिनिधि, काठमाडौं महानगरपालिकाका प्रतिनिधि सहितको एक कार्यदल बनाउन लागेको जानकारी दिए ।

‘कार्ययोजना कार्यान्वयन गर्न लगातार बैठक बसेर मूल्यांकन तथा समस्या हल गर्नको लागि यो समितति गठन गरिएको हो,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयका सहसचिव डा. नारायण रेग्मीेको नेर्तत्वमा उक्त कमिटी गठन गरिएको छ । काठमाडौ वायुप्रदुषण नियन्त्रण कार्यदलले ०७३ माघ २५ गते नै रिपोर्ट पेश गरेपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

राष्ट्रिय योजना आयोगको सो कार्यदलले पेश गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न पेश गर्न सरकारले एक समिति गठन गरेको हो ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा उपस्थित विज्ञहरुले उपत्यकामा फोहर जलाउने गरेको र त्यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव थियो ।

‘उपत्यकामा फोहर तथा प्लाष्टिकहरु जलाइने गरेको छ , यसले ठुलो मात्रामा प्रदुषण बढाएको छ यसलाई तत्काल रोक्न जरुरी छ,’ कार्यक्रममा वातावरणविद् भुषण तुलाधरले भने ।

काठमाडौंको वायुमा पाइने पीएम १० को धुलो २३ प्रतिशत फोहर जलाउँदा उत्पन्न हुने उनको भनाइ छ । तर, यसबारेमा भने मन्त्रिपरिषद कार्यालयले कुनै निर्णय गरेको छैन ।

विभिन्न योजना बन्ने तर, कार्ययोजना कार्यान्वयनका लागि कुनै निकाय नतोकिँदा अहिलेसम्म काठमाडौंको वायुप्रदुषण रोक्न ठोस कदम चाल्न सकिएको छैन । मेलम्ची आयोजनाले पाइप बिच्छ्याउनका लागि विभिन्न स्थानमा सडक खनेको छ । जसका कारण धुलोको मात्रा काठमाडौंमा बढ्दै गएको छ ।

सडक खनेका ठाउँमा सरकारले ठेकेदारलाई पानी हाल्न निर्देशन दिएको छ । कुनै ठाउामा यस्तो पानी हाल्ने काम भएपनि त्यसले निरन्तरता पाउन सकेको छैन । जसका कारण धुलो नियन्त्रणमा आउन सकेको छैन ।

उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी भने पानी हाल्दैमा धुलो नियन्त्रण नहुने बताउाछन् ।

‘मेलम्चीले खनेका ठाउामा पानी हालेर समस्या समाधान हुँदैन, गाडीका चक्काबाट हिलो अन्यन्त्रका सडकमा जाने गरेका छन्, त्यसैले अस्थायि पिच गर्ने व्यवस्था नै गर्न उपयुक्त हुन्छ,’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com