इतिहासमै पहिलोपटक कतारले तोक्यो विदेशी कामदारको तलव


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

निःशुल्क आवास, खाना, र स्वास्थ्योपचारको व्यवस्था रोजगारदाताले नै गर्नुपर्ने

कतारले इतिहासमै पहिलोपटक विदेशी कामदारको न्यूनतम तलव तोकेको छ । विदेशी कामदारको न्यूनतम तलब प्रतिमहिना २ सय अमेरिकी डलर (करीव २० हजार ५ सय रुपैयाँ) तोकेको कतारको श्रम मन्त्रालयले जानकारी दिएको छ । यद्यपी, यो तलवमान भने स्थायी नभएको र परिमार्जन गर्न सकिने समेत बताइएको छ । सरकारले स्थायी तलवमान तोक्नका लागि गृहकार्य गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।

तलव सुविधालगायतका विषयमा विदेशी कामदारप्रति अन्यायपूर्ण व्यवहार गरेको भन्दै विश्वभरका सरोकारवालाले कतार सरकारको आलोचना गर्दै आइरहेका थिए । कतारमा विदेशी कामदारको न्यूनतम तलवमान तोकिएपछि त्यहाँ कार्यरत करिब ४ लाख नेपाली कामदारलाई राहत पुग्ने वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । त्यसबाट नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स)मा समेत योगदान पुग्नेछ ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्रसमेत रहेको कतारमा करिब २० लाख विदेशी कामदार रहेको तथ्यांक छ । विदेशी कामदारको न्युनतम तलव तोक्ने कतार सरकारको कदमलाई उल्लेखनीय रुपमा हेरिएको छ । ‘७ सय ५० रियाल (करीव २० हजार पाँच सय रुपैयाँ) विदेशी कामदारको न्यूनतम तलवमान तत्काल कार्यान्वयनमा आउनेछ’ विदेशी कामदारको न्यूनतम तलवमान घोषणा कार्यक्रममा कतारका श्रममन्त्री इस्सा अल नुआइमीलले भने ।

यसका साथै विदेशी कामदारलाई निःशुल्क आवसीय सुविधा, खाना, र स्वास्थ्योपचारसमेत रोजगारदाताले उपलब्ध गराउनुपर्ने प्रावधान समेत गरिएकाले विदेशी कामदारलाई राहत मिल्ने विश्वास गरिएको छ ।

विश्वकप फुटवल तयारीका लागि कतारमा निर्माणकार्य तीव्र गतिमा अघि बढाइएको छ । यसक्रममा धेरै कामदारको मृत्युसमेत हुने गरेकाले कतारको निर्माणक्षेत्रमा धेरै नै जोखिम भएपनि अपेक्षित कम तलवमान तोकिएको भन्दै कतार सरकारको आलोचना हुँदै आएको थियो । सन् २०१३ मा सार्वजनिक गरिएको एक प्रतिवदेनले कतारमा विश्वकप फुटबलका लागि तयार भइरहेको रंगशाला निर्माणका क्रममा मात्र करिब १ हजार २ सयभन्दा बढी विदेशी कामदारको मृत्यु भइसकेको उल्लेख छ । तर सन् २०१५ मा अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले गरेको एक विश्लेषणले भने मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने र सो क्रम नरोकिएको उल्लेख गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com