फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने पक्राउ


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए ।

तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग ९डिपेन्डेन्ट भिसा आश्रित प्रवेशाज्ञामा अमेरिका लैजाने भनी रु नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी रु २२ लाख ठगी गरेका थिए ।

तामाङले उक्त ठगी मुद्दामा विसं २०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com