एसाइलम र टीपीएसमा अमेरिकामा रहेका नेपालीले डिभी भर्न सक्ने


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्ने र उनीहरु डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि योग्य हुने कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

यदि कुनै व्यक्ति अमेरिकामा आएर भिसा नसकिदै युएससीआईएसमा एसाइलम फाइल गरेको छ र उसको एसाइलम युएससीआईएसमा नै पेन्डिङ अवस्थामा छ भने त्यस्तो व्यक्तिले डिभी लोटरी भरेर परेमा ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी श्रेष्ठको भनाई छ । साथै कुनै व्यक्तिले आफ्नो भिसा नसकिदै टीपीएस फाइल गरेर टीपीएस प्राप्त गरेको छ भने पनि त्यस्तो व्यक्तिले डिभी लोटरी भरेर परेमा ग्रिनकार्ड पाउनसक्ने जनाइएको छ ।

कुनै व्यक्ति अमेरिकाको नवौं र छैठौं सर्किट कोर्टको क्षेत्राधिकारभित्र रहेको छ भने भिसा सकिएपछि टीपीएस फाइल गरेर टीपीएस प्राप्त गरेकोले समेत डिभी लोटरी भरेर परेमा ग्रिनकार्ड पाउनसक्ने जनाइएको छ । साथै त्यो क्षेत्राधिकारभित्र बस्ने कुनै टीपीएसप्राप्त नेपाली जुनसुकै तरिकाबाट अमेरिका आएर जसरी बसेको भएपनि अपराध गरेको पृष्ठभूमी नभएको खण्डमा डिभी लोटरी भरेर ग्रिनकार्डका लागि योग्य हुनसक्नेछ । अलास्का, एरिजोना, क्यालिफोर्नियाका पूर्व, मध्उ, उत्तर र दक्षिण जिल्लाहरु, हवाई, आइदाहो, मोन्टाना, नेभाडा, ओरेगन, वासिंटन राज्यका पूर्व र पश्चिम जिल्लाहरु नवौं सर्किटको क्षेत्रमा पर्छन् । त्यस्तै केन्टकीको पूर्व र पश्चिम जिल्ला, मिसिगनको पूर्व र पश्चिम जिल्ला, ओहायोको उत्तर र दक्षिण जिल्ला, टेनेसीको पूर्व, मध्य र पश्चिम क्षेत्र छैठौं सर्किटकोर्टमा पर्छन् ।

अदालतमा एसाइलमका मुद्दा पेन्डिङ अवस्थामा रहेकाहरु टीपीएस प्राप्त नगरेको भएमा र छैठौं तथा नवौं सर्किट कोर्टको क्षेत्राधिकारभित्र नबस्ने भएमा भने डिभी लोटरीका लागि योग्य हुनेछैनन् । डिभी लोटरी भर्ने अन्तिम म्याद यही नोभेम्बर २२ सम्ममात्र रहेको छ । त्यसैले डिभीका अन्य योग्यताहरु पूरा गरेको खण्डमा अमेरिकाको छैठौं र नवौं सर्किट कोर्टमा बस्ने टीपीएस प्राप्त सबै, अमेरिकाका अन्य सबै क्षेत्रमा बस्ने भिसा नसकिदै युएससीआईएसमा एसाइलम आवेदन दिएका तर अन्तरवार्ता आइनसकेका, भिसा नसकिदै टीपीएसका लागि आवेदन दिएर टीपीएस पाएका र अहिलेपनि भिसा अद्यावधिक रहेका तर ग्रिनकार्ड नभएका नेपालीहरुलाई डिभी भर्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com