अमेरिकी नागरिकता पाउन कुर्नुपर्ने अबधि दोब्बर


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

अमेरिकी नागरिकताका आवेदनमा सृजना भएको भयानक ब्याकलगका कारण नागरिकताका आवेदनमा निर्णयका लागि विगतको तुलनामा दोब्बर समय लाग्न थालेको छ । सन् २०१६ को नोभेम्बर अगाडि र त्यसपछि अमेरिकी नागरिकताका लागि दिइएका झण्डै ७ लाख ८ हजार भन्दा धेरै आवेदनहरु पेन्डिंग अवस्थामा रहेका छन् ।

सामान्यतया अमेरिकी नागरिकताको आवेदनबारे निर्णय आउन ५ देखि ७ महिना लाग्ने गरेकोमा अब त्यसमा परिवर्तन आएको छ । नागरिकताको आवेदनबारे निर्णयका लागि अब १० महिनाभन्दा पनि लामो समय लाग्न थालेको छ । उदाहरणका लागि लस एन्जलस काउन्टीमा नागरिकताको आवेदन दिएकाहरुले निर्णय प्राप्त गर्न कम्तीमा १० महिना कुर्नुपर्ने भएको छ ।

लामो ब्याकलगका कारण एकबर्ष अगाडि नै अमेरिकी नागरिकताका लागि आवेदन दिएका कैयन नेपालीहरुले समेत आवेदनबारे निर्णय प्राप्त गर्न सकेका छैनन् । राष्ट्रपतिको चुनावमा मतदानमा सहभागी गराउनका लागि नागरिकताप्रदान गर्ने दर उच्च र छरितो रहेपनि चुनाव सकिएपछि भने ब्याकलग क्रमश बढ्दै गएको हो । ट्रम्पको कडा अध्यागमन नीतिका कारण अमेरिकामा रहेका धेरैले नागरिकताका लागि आवेदन दिएका कारण पनि ब्याकलग बढेको हो भने आवेदनमाथिको छानविन पनि पहिले भन्दा कडा बनाइएका कारण समय लाग्ने गरेको छ ।

आर्थिक बर्ष सन् २०१६ मा ९ लाख ७१ ह्जार २ सय ४२ अमेरिकी नागरिकताका आवेदनहरु युएससीआईएसमा प्राप्त भएका थिए , जुन अघिल्लो बर्षको तुलनामा २४ प्रतिशतले बढी हो । २ बर्ष अगाडि ३ लाख ९९ हजार ३ सय ९७ नागरिकताका आवेदनहरु पेन्डिंग अवस्थामा रहेपनि २ बर्षमा यो संख्या ७ लाख ८ हजार ६ सय ३८ पुगेको छ । विगतका आवेदनहरु १० पेजमात्र हुनेभएपनि ट्रम्प कार्यकालमा २० पेज लामो आवेदन हुन थालेकाले अधिकारीलाई आवेदनबारे निर्णय गर्न बढी समय लाग्ने गरेको छ ।

आवेदनबारे निर्णयको अवधि घटाउन युएससीआईएसले थप अधिकारीहरुलाई ओभरटाइम काममा लगाउने र देशभर खाली रहेका पदपूर्तीका लागि पहल गरिरहेको युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com