डिभी भर्नेको विवरण खुफिया डाटाबेसमा


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

अमेरिकाले हरेक बर्ष डिभी लोटरी खुलाएर विश्वभरबाट करोडौं व्यक्तिका विवरणहरु जम्मा पार्छ । गत बर्ष खुलाइएको डिभी लोटरीमा विश्वभरबाट २ करोड ३० लाखले आफ्ना तस्विरसहितका विवरणहरु डिभी लोटरीमार्फत अमेरिकालाई बुझाएका थिए । डिभी लोटरीमा यो बर्ष त्यो भन्दा धेरैका विवरणहरु विश्वभरबाट अमेरिकी सरकारसमक्ष पुग्ने अनुमान गरिएको छ ।

अमेरिकी भिसाका लागि आवेदन दिने र डिभी लोटरी भर्नेहरुका तस्विरहरु सिधै अमेरिकी सरकारको खुफिया डाटाबेसमा पुग्ने गरेका छन् । अमेरिकी सरकारका एफबीआई लगायतका एजेन्सीहरुले ती तस्विर र विवरणहरु अपराधी चिन्ने प्रविधिमा प्रयोग गर्दै आएका छन् । गतबर्षसम्म अमेरिकी सरकारको विदेशमन्त्रालयले भिसा लगायतका प्रयोजनमा प्रयोग हुँदै आएका १४ करोड तस्विरहरु एफबीआईलाई उपलब्ध गराएको थियो । अमेरिकी सरकारका निकायमहरुमध्ये सबैभन्दा धेरै तस्विरहरु अनुहारबाट अपराधी चिन्ने प्रयोजनका लागि एफबीआईसमक्ष पठाउनेमा अमेरिकी सरकारको विदेशमन्त्रालयको कन्सुलर अफेयर्स सबैभन्दा अगाडि रहेको छ ।

अनुहारबाट अपराधी चिन्ने प्रविधिमा सुधार ल्याउने उद्देश्यले अमेरिकी सरकारले गतबर्षको नोभेम्बर १ देखि लागुहुने गरी अमेरिकी भिसा र पासपोर्टका आवेदकहरुलाई तस्विरमा चस्मा लगाउन निषेध गरेको छ । अपराधीहरुले चस्मा लगाएर आफ्नो परिचय लुकाउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चस्माका कारण व्यक्तिको पहिचान हुनमा समस्या नपरोस् भन्ने उद्देश्यले अमेरिकी सरकारले भिसा र पासपोर्टको तस्विरमा चस्मा निषेध गरेको छ । अनुहारबाट अपराधी चिन्ने प्रविधिमा आँखाको भूमिका महत्वपूर्ण हुने भएकाले चस्माले केहीहदसम्म आँखा छोपिदा व्यक्ति पहिचानमा गडबडी हुनसक्ने भएकाले सादा चस्मा लगाउन समेत निषेध गरिएको हो । यसअगाडि आँखा कमजोर हुनेहरुले सादा चस्मा लगाएर पासपोर्ट र भिसाका लागि तस्विर खिच्न पाउँथे ।

 

कन्सुलर अफेयर्सले कन्सुलर अफेयर्सको फेस रिकग्निसन प्रविधिमा सुधारका लागि आफूहरुले चस्मा लगाएका तस्विरहरु निषेध गरेको जनाएको छ । यस्तो निषेधले अनुहारबाट व्यक्ति चिन्ने प्रविधिको एक्युरेसीलाई बढाउने र उस्तै उस्तै प्रकारका आवेदकहरुमा झुक्किने समस्यालाई कम गर्ने कन्सुलर अफेयर्सले विश्वास लिएको छ । नयाँ नीति अनुशार आवेदकले अत्यन्तै संवेदनशिल अवस्थामा मात्र चस्माको प्रयोग गर्न जनाइएको छ ।

भिसा आवेदनको बेलामा यदि आवेदकको आँखाको दृश्यसम्बन्धि सर्जरी गरिएको छ र आवेदकको इमर्जेन्सी यात्राका क्रममा चस्मा लगाउनु अत्यावश्यक भएको खण्डमा मात्र चस्मा लगाउन पाइने तर त्यसका लागि आवेदकले मेडिकलका आधिकारिक व्यक्तिले हस्ताक्षर गरेको कागजात प्रदान गर्नुपर्ने जनाइएको छ । चस्मा लगाउनुपरेको अवस्थामा एकबर्षको पासपोर्टमात्र जारी गरिने वा भिसा जारी गर्दा पनि कम समयकोमात्र गरिने जनाइएको छ । स्वास्थ्यका कारणले चस्मा लगाएको तस्विर स्वीकार गरिएको खण्डमा पनि चस्माको फ्रेमले आँखा ढाकिएको हुन नहुने र आँखालाई प्रभावित पार्नेगरी चस्मा टल्किएको वा आँखामा छाया परेको हुन नहुने कन्सुलर अफेयर्सले जनाएको छ ।

अनुहारबाट मान्छे चिन्ने प्रविधिमा सुधार ल्याउनका लागि ल्याइएको नयाँ नियमपछि अमेरिकी सरकारलाई यो प्रविधिको प्रयोगमा अझ सहज हुने विश्वास गरिएको छ । अमेरिकामा प्रयोग भइरहेको फोटोबाट मान्छेको पहिचान गर्ने प्रणाली औंठाछापबाट र आँखाको स्क्यानबाट मान्छेको पहिचान गर्ने प्रविधि भन्दा सहज र उन्नत रहेको छ । किनभने फोटोबाट मान्छेको पहिचान गर्दा व्यक्ति जहाँसुकै भएपनि सीसी क्यामेरा वा अन्यत्र कैद भएको फोटोको आधारमा समेत व्यक्तिको पहिचान हुन सम्भव छ । यसो गर्दा कुनै पनि अपराधीलाई आफ्नो बारेमा पत्ता लागिसकेको छ भन्ने कुराको जानकारी पनि हुँदैन । कुनै पनि अपराधीलाई यो प्रविधिबाट बच्न सहज नहुने अनुमान गरिएको छ । ल्याम्प पोष्ट, मान्छेविनाका गाडि वा कसैको चस्मामा फिट गरिएका क्यामेरामा खिचिएका अपराधीका तस्विरलाई स्क्यान गर्दा उनीहरुको बारेमा पत्तो लाग्ने बताइएको छ ।

फेसबुकमा फोटो पोष्ट गर्दा फेसबुकले अटामेटिक रुपमा फोटोमा रहेका व्यक्तिको पहिचान गरेर ट्याग माग्ने गरेजस्तै यो प्रविधिले पनि कुनै पनि व्यक्तिको फोटो स्क्यान गर्नासाथ रेकर्डमा रहेको फोटोसँग म्याच गराउँछ । जस्ले गर्दा व्यक्तिको पहिचान गर्न सहज हुन्छ । फोटो पहिचानको प्रविधि अहिले फेसबुकले समेत परिक्षण गरिरहेको छ । तर यसको प्रयोजन भने फरक रहेको छ । फेसबुकले फोटो पहिचान गर्ने डिपफेस सिस्टम एउटा रिसर्च प्रोजेक्ट मात्र भएको बताइएको छ । फेसबुकको यो प्रविधिले ९७ दशमलव २५ प्रतिशत व्यक्तिको पहिचान गर्दै आएको छ ।

फेस रिकग्निसन प्रणालीको प्रयोग गर्नेमा अमेरिकी सरकारको विदेश मन्त्रालयले विश्वकै सबैभन्दा ठूलो मध्येको एक फेस रिकग्निसन प्रणालीको प्रयोग गर्दै आएको छ । अमेरिकाको एफबीआईले अर्कोे पुस्ताको पहिचान नामको प्रविधिको प्रयोग गर्दै आएको छ । अहिले एफबीआईसँग ४१ करोड भन्दा धेरै तस्विरहरु स्क्यान गर्नसक्ने प्रविधि रहेको छ । चालक अनुमतिपत्र, पासपोर्ट र भिसामा प्रयोग हुने तस्विरहरु समेत एफबीआईले स्क्यान गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com