अमेरिकाको कामदार भिसा नविकरणमा समस्या, सयौं नेपाली प्रभावित


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिर्सेज युएससीआईएसले जारी गरेको नयाँ निर्देशिकाले रोजगारमा आधारित कामदार भिसा पाउन अझ मुस्किल बनाएको छ । जसबाट कामदार भिसामा अमेरिकामा रहेका र कामदार भिसाका लागि आवेदन दिने सयौं नेपालीहरु प्रभावित हुने भएका छन् । नयाँ निर्देशिका गत मंगलबार जारी गरिएको हो ।

अब पहिले नै स्वीकृत भइसकेका एचवान बीको अवधि थप्ने आवेदन र रोजगारमा आधारित आई १२९ पिटिसनको स्वीकृतिमा कडा बनाइएको छ । झण्डै तीनसाता अगाडि नियुक्त युएससीआईएसका निर्देशक ली सिस्नाले नयाँ निर्देशिका जारी गरेका हुन् । नयाँ निर्देशिकाले रोजगारमा आधारित भिसाको अवधि थप्नेमा नयाँ व्यवधान सृजना गरेको छ । कामदार भिसाको अवधि थप्नका लागि समेत अब आवेदकले नयाँ आवेदन सरह अफर गरिएको पद र आवेदक एचवान बी भिसाका लागि योग्य रहेको प्रमाणित गर्ने कागजातहरु पेश गर्नुपर्नेछ ।

नयाँ निर्देशिकाका कारण आवेदन अस्वीकृति दर बढ्ने र आवेदनमा युएससीआईएसले धेरै भन्दा धेरै थप कागजातको माग गर्ने विश्लेषण गरिएको छ । नयाँ निर्देशिकालाई पहिले नै स्वीकृति भइसकेका भिसाको अवधि थप्नमा समस्या पैदा गर्ने र पहिले स्वीकृत भइसकेका भिसाहरु खारेज गर्ने कदमका रुपमा हेरिएको छ ।

नयाँ निर्देशिकाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com