‘रक्कामा निर्णायक आक्रमण शुरु’


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

पश्चिमा देशको समर्थन प्राप्त सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) ले सिरियाली शहर रक्कालाई इस्लामिक स्टेट (आइएस) का लडाकुको कब्जाबाट आफ्नो नियन्त्रणमा लिन निर्णायक आक्रमण शुरु गरेको जनाएको छ।

सयौं सर्वसाधारण सहित आइतवार आइएसका लडाकु र उनीहरुका परिवारको एउटा समूहले शहर छाडेपछि उक्त आक्रमण थालिएको उसको भनाइ छ।

एसडीएफका भनाइमा एउटा सहमतिपछि आइएस लडाकुको एक समूहले पछि हट्ने निर्णय गरेको छ।

र, उनीहरुले मानव ढाल बनाएका करिब ३ हजार सर्वसाधारण पनि मुक्त गरिदिएका छन्।

अस्वीकार

एकजना प्रवक्ता मुस्तफा बालीले समाचार संस्था रोयटर्सलाई बताए अनुसार ती लडाकुले आफ्नो सुरक्षाको सुनिश्चितता नहुँदासम्म मानव ढाल बनाइएका सार्वसाधारणलाई छाड्न मानेका थिएनन्।

तर २ देखि ३ सय जति लडाकुले आत्मसमर्पण गर्न अस्वीकार गरेको एसडीएफले बताएको छ।

उनीहरु शहरको केन्द्रमा लडाइँको निम्ति बसिरहेका छन्।

रक्का आइएसले सन् २०१४ मा कब्जामा लिएका ठूला मध्येको एक शहर हो, जुन तीन वर्षदेखि उनीहरुको नियन्त्रणमा छ।

झट्का

तर एसडीएफ र कुर्दिश तथा अरब मिलिसियाको गठबन्धनले करिब ४ महिनादेखि त्यसलाई घेराबन्दी गरिरहेको छ।

एउटा वक्तव्यमा एसडीएफले भनेको छ, “आत्मसमर्पण गर्न अस्वीकार गरेका विदेशी लडाकुसहितका आतंककारीलाई पूरै शहरबाट नधपाएसम्म आक्रमण रोकिने छैन।”

रक्का आइएस लडाकुले समानान्तर राजधानीको रुपमा खडा गर्न खोजेको शहर हो।

संवाददाताहरु भन्छन्, “त्यो गुमाउनु उनीहरुको निम्ति ठूलो प्रतीकात्मक झट्का हुनेछ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com