वर्क परमिट आवेदनबाटै अव सोसल सेक्युरिटी नम्बर, कार्यालय धाउन नपर्ने


प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार

अमेरिकामा अब काम गर्न अनुमति प्रदान गर्ने वर्क परमिट कार्ड र सोसल सेक्युरिटी कार्डका लागि छुट्टा छुट्टै फर्म भर्न नपर्ने भएको छ । यसअघि अमेरिकामा ग्रिनकार्ड नहुनेहरुका लागि वर्क परमिट कार्ड प्राप्त भइसकेपछि त्यसका आधारमा सोसल सेक्युरिटी नम्बरका लागि आवेदन दिनुपर्ने प्रावधान रहेको थियो । तर अब वर्क परमिटका लागि योग्य हुनेहरुले सोसल सेक्युरिटी नम्बरका लागि सोसल सेक्युरिटी अफिस धाउन नपर्ने भएको छ ।

सोमबारदेखि लागु हुने गरी नयाँ व्यवस्था लागु गरिएको र वर्क परमिटका लागि अपडेटेड फर्म भरिसकेपछि आवेदकले सोही आधारमा स्वत सोसल सेक्युरिटी नम्बर प्राप्त गर्ने युएससीआईएसले जनाएको छ । युएससीआईएस र सोसल सेक्युरिटी प्रशासनबीच भएको सुचना आदान प्रदान सहमति अनुशार अब आवेदकले अपडेट गरिएको आई ७६५ फर्मबाट नै वर्क परमिट र सोसल सेक्युरिटी नम्बरका लागि आवेदन दिनसक्ने भएका छन् ।

नयाँ आई ७६५ फर्मममा आवेदकले थप प्रश्नहरुको जवाफ दिनुपर्नेछ जसबाट आवेदकले सोसल सेक्युरिटी अफिस नगइकनै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न सक्नेछन् । युएससीआईएसले आफूसमक्ष आएको विवरण सोसल सेक्युरिटी प्रशासनलाई उपलब्ध गराउनेछ । वर्क परमिट स्वीकृत भएका आवेदकले त्यसको दुईसाताभित्र सोसल सेक्युरिटी नम्बर पनि प्राप्त गर्नेछन् । अमेरिकी सरकारले गरेको यो नयाँ व्यवस्थाले आवेदकलाई सहज बनाएको छ भने सोसल सेक्युरिटी कार्यालयको भार पनि घटाउने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com