उपत्यकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

काठमाडौँ- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २५४औँ हप्तामा आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सामाजिक संस्थाको संस्थागत सहभागिता रहेको थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियन्ताको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । सफाइ महाअभियानले अटुट रुपमा २५४ हप्ता पार गरेको छ । शनिबार चाडपर्व परे पनि सफाइ अभियानलाई निरन्तरता दिइएको उहाँले सुनाउनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१५औँ हप्तामा एभरेष्ट पेट्रोल पम्प मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।

रुद्रमती सफाइको २०९औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित राममन्दिर परिसरमा जनचेतनामूलक सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मन्दिरमा रामनवमीका अवसरमा आइतबार विशेष मेला लाग्छ ।

सफाइमा रुद्रमती समन्वय समितिका अध्यक्ष एवम् पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत अभियन्ताको उपस्थिति थियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको १८०औँ हप्ताका अभियन्ता चक्रपथ सफाइको ५०औँ हप्ताको कार्यक्रममै सहभागी भएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिनुभयो । वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५९औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । नदीमा वाग्मती सौन्दर्यीकरणको कार्य भइरहेकाले जनचेतनामूलक अभियान सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।

मीनभवन क्षेत्रको आलोकनगर सफाइको ५०औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथको बाफल खण्डको ३२औँ हप्ताको सफाइका क्रममा बालाजु क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो ।

Ratopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com