२०१७ का डिभी विजेताको भिसा समाप्त, ५ सय बढी नेपालीले पाएनन्


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

सन् २०१७ का डिभी लोटरी विजेताहरुको भिसा समाप्त भएको छ । उनीहरुले भिसा पाउने प्रकृया सेप्टेम्बर ३० बाट समाप्त भएको हो । सन् २०१७ को डिभी पार्ने तर भिसा नपाउने नेपालीहरुको संख्या ५ सय बढी रहेको छ ।

५० हजारको भिसा संख्या सबै प्रयोग होस् भन्ने उद्देश्यले धेरैलाई लोटरी पारिन्छ । त्यसैले सन् २०१७ को डिभी लोटरी पनि ४ हजार जना नेपालीहरुलाई पारिएको थियो । तर उनीहरुमध्ये ५ सय भन्दा बढीले भिसा पाएनन् । ७ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुने नेपालीहरुलाई भिसा उपलब्ध नगराइएपछि अमेरिका आउने आशामा बसेका सयौं नेपालीहरु निराश हुन पुगेका छन् ।

सन् २०१७ का लागि डिभी पार्नेहरुले सन् २०१७ को सेप्टेम्बर अन्त्यसम्ममात्र भिसा पाउने नियम रहेको छ । नयाँ आर्थिक बर्ष सुरु हुनासाथ अक्टोबर १ देखि सन् २०१७ को कार्यक्रम समाप्त भएको छ । र, सन् २०१८ को कार्यक्रम सुरु भएको छ ।

विगतका बर्षहरुमा भिसा नपाउनेहरु

विगतका बर्षहरुमा पनि डिभी पारेका कैयन नेपालीहरुले अमेरिकाको भिसा पाएका थिएनन् । आर्थिक बर्ष २०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि ५ सय ५४ जना डिभी विजेता नेपालीहरुले भिसा पाएनन् ।

इतिहास हेर्दा सन् २००३ मा २३२० नेपालीलाई डिभी लोटरी परेकोमा १७५४ जनामात्र अमेरिका आउन पाए, ५६६ जनाले भिसा पाएनन् । सन् २००४ मा ४२५९ जनालाई डिभी लोटरी परेकोमा १७७५ जनाले भिसा पाए भने २४८४ जना अमेरिका आउन पाएनन् । त्यस्तै सन् २००५ का लागि २६९८ जना नेपालीले डिभी लोटरी पारेपनि १७८९ जनालेमात्र भिसा पाए, ९०९ जनाले भिसा पाएनन् ।

सन् २००६ मा १९३४ जनालाई डिभी लोटरी परेको थियो भने १४५७ जना भिसा पाएर अमेरिका आए भने ४७७ जनाले भिसा पाएनन् । त्यस्तै सन् २००७ मा १५२९ जनालाई डिभी लोटरी परेको थियो तर ११९१ जनालेमात्र भिसा पाए, ३३८ जनाले पाएनन् । त्यस्तै सन् २००८ मा २५६२ जनालाई डिभी लोटरी परेकोमा २०७३ जनाले भिसा पाएका थिए, ४८९ जना अमेरिका आउन पाएनन् ।

सन् २००९ मा १८९१ जना नेपालीहरुलाईमात्र डिभी लोटरी परेको थियो । तर १६१५ जनामात्र भिसा पाएर अमेरिका आए, बाँकी २७६ जना अमेरिका आउन पाएनन् । त्यस्तै सन् २०१० मा २१३२ जनालाई डिभी लोटरी परेकोमा १९३६ जनाले भिसा पाए, बाँकी १९६ जनाले पाएनन् । सन् २०११ मा २१८९ जनालाई डिभी लोटरी परेको थियो, जसमध्ये २०१७ जना अमेरिकामा आए भने १७२ जनाले भिसा पाएनन् । सन् २०१२ मा भनृ ३२५८ जनालाई डिभी लोटरी परेको थियो । यो बर्ष १९५३ जनालेमात्र भिसा पाए १३०५ जनाले पाएनन् ।

त्यस्तै सन् २०१३ मा ४३७० जना नेपालीहरुलाई डिभी लोटरी परेको थियो । उनीहरुमध्ये ३३७७ जनाले भिसा पाएर अमेरिका आएपनि ९९३ जनाले भने भिसा पाएनन् । सन् २०१४ को कार्यक्रमका लागि अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ६०८२ जना नेपालीले डिभी लोटरी पारे । यो बर्षको कार्यक्रममा डिभी लोटरीबाट इतिहासमा नै सबैभन्दा धेरै ३५०४ जना नेपालीहरु अमेरिका आए भने इतिहासमा नै सबैभन्दा धेरै २५७८ जनाले अमेरिकाको भिसा पाएनन् । सन् २०१५ मा ४९९१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए तर ३३७० जनाले भिसा पाए भने बाँकी १६२१ जनाले पाएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com