अन्तिम डिभी लोटरी : अक्टोबर ३ देखि नोभेम्बर ७ सम्म भर्न सकिने


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

-किशोर पन्थी

डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । तर सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । आगामी अक्टोबर ३ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि नोभेम्बर ७ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट आज जारी सुचनामा जनाइएको छ ।

डिभीका नियममा यसबर्ष थप कुनै परिवर्तन नगरिएतापनि डिभी लोटरी भर्नका लागि अन्तिम समय सम्म नकुर्न अमेरिकी सरकारको विदेशमन्त्रालयले सुचित गरेको छ । अन्तिम समयसम्म कुर्दा कम्प्युटर ओभरलोड भई ढिलाई हुने र आवेदन दर्ता नहुने सम्भावना समेत रहने भएकाले डिभी लोटरीका लागि अन्तिम समयसम्म नकुर्न सुचित गरिएको हो । आगामी अक्टोबर ३ तारिखदेखि नोभेम्बर ७ सम्म भरिने डिभी लोटरीको नतिजा सन् २०१८ को मे १ तारिखबाट आउन थाल्नेछ भने विजेताहरुले सन् २०१८ को अक्टोबर १ बाट भिसा प्राप्त गर्न थाल्नेछन् ।

अमेरिकी सरकारबाट जारी सुचनाको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

सम्भवत अन्तिम डिभी

डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको नियम कम्तीमा थप १ बर्ष कायम हुने भएको छ । अर्थात् आगामी अक्टोबर १ देखि सुरु भई सन् २०१८ को सेप्टेम्बर मसान्तमा समाप्त हुने अमेरिकी आर्थिक बर्ष २०१८ का लागि डिभी लोटरी पनि कायम हुने भएको छ भने रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्ड समेत फाइल गर्न पाइने भएको छ ।

अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधयेक पारित गर्न नसकेपछि डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको अवधि एकबर्ष लम्बिएको हो । आर्थिक बर्ष २०१८ भित्र संसदमा रहेको यससम्बन्धि विधयेक पारित भएमा सन् २०१८ को अक्टोबर १ बाट डिभी लोटरी खारेज हुनेछ भने रोजगारमा आधारित ग्रिनकार्डको प्रकृया समाप्त भई प्वाइन्ट सिस्टम लागु हुनेछ । त्यस्तै अहिलेसम्म अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरुका दाजुभाई र दिदीबहिनीहरुले पाउदै आएको ग्रिनकार्डको नियम पनि खारेज गरिनेछ ।

नयाँ कानुन बन्न नसकेपछि आगामी अक्टोबरको पहिलो साता डिभी लोटरी खुल्ने भएको हो । तर यो डिभी लोटरी नै सम्भवत अन्तिम डिभी लोटरी हुने न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभएको छ । विगत केहीबर्ष देखि नै डिभी लोटरी खारेज हुने चर्चा चल्दै आएपनि यो बर्ष भने आर्थिक बर्ष सन् २०१९ का लागि डिभी लोटरी खुल्ने भएको छ ।

 

सन् २०१८ का विजेताले यही अक्टोबर १ बाट भिसा पाउने

गतबर्षको अक्टोबरको २ देखि ७ सम्म डिभी लोटरी भरेर गत मे २ को परिणाम अनुशार डिभी लोटरीका विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । सन् २०१८ का लागि डिभी लोटरी परेका नेपालीहरुमध्ये पहिलो महिना अक्टोबरमा ७५० सम्म केस नम्बर हुने नेपालीहरुलाईमात्र भिसा उपलब्ध गराइने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

सन् २०१७ का लागि डिभी लोटरी परेका नेपालीहरुमध्ये भने सेप्टेम्बरमा ७४५० सम्म केस नम्बर हुनेहरुलेमात्र अमेरिकाको भिसा पाउने भएका छन् । त्यसपछि सन् २०१७ को डिभी लोटरी कार्यक्रम समाप्त हुनेछ । तर सन् २०१८ का लागि डिभी परेकाहरुले भने सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को सेप्टेम्बरसम्म भिसा प्राप्त गर्नेछन् ।

सन् २०१८ का लागि डिभी परेकाहरुले पहिलो महिना अक्टोबरमा एसियाभरका १२ सय सम्म केस नम्बर हुनेहरुका लागिमात्र भिसा उपलब्ध हुनेछ । जसमध्ये इरान र नेपाललाई ७५० मा सिमाबन्दी गरिएको हो । सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । उनीहरुमध्ये झण्डै ३५ सयलेमात्र अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

अहिलेसम्म ५० हजार नेपालीलाई डिभी

अहिलेसम्मको इतिहासहेर्दा झण्डै ५० हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ । सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । चालु आर्थिक बर्ष २०१७ का लागि भने ४ हजार नेपालीहरुलाई डिभी परेको थियो ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए ।

 

डिभी बन्द गर्ने विधयेक अप्रिल अगाडि पारित हुने सम्भावना

 

डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको नियम खारेज गर्ने विधयेक सन् २०१८ को अप्रिल अगाडि नै पारित हुने सम्भावना रहेको छ । सिनेटरहरु टम कटन र डेभिड पर्डयुले अमेरिकी सिनेटमा अध्यागमनबारेको यो विधयेक पेश गरिसकेका छन् । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेक पारित भएमा अमेरिकाको इमिग्रेशन इतिहासमा शताब्दीकै ठूलो परिवर्तन हुनेछ ।

विधयेकमा मुख्यतया तीनवटा विषयहरु समेटिएका छन् । पहिलो, यो विधयेक पारित भएमा क्यानडा र अष्ट्रेलियाले अपनाएको जस्तै प्वाइन्ट सिस्टममा भाषा, शिक्षा र योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गरिनेछ । यो प्रणालीले अमेरिकी अर्थतन्त्रमा योगदान दिनसक्नेलाई प्राथमिकता दिनेछ । आवेदकले शिक्षा, भाषा क्षमता, उच्च तलब पाउने जागिरको अफर, उमेर, अति दक्ष उपलब्धीको रेकर्ड लगायतका आधारमा प्वाइन्ट प्राप्त गर्नेछन् । निश्चित प्वाइन्ट प्राप्त गर्ने १ लाख ४० हजारले बर्षेनी यो ग्रिनकार्ड प्राप्त गर्नेछन् । यसरी प्वाइन्ट सिस्टमबाट रोजगारमा आधारित भिसा पाउनका लागि आवेदकले कम्तीमा ३० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ ।

दोश्रो, यो विधयेक पारित भएमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका २१ बर्ष पुगेका छोराछोरी र दाजुभाईदिदीबहिनीले पाउने ग्रिनकार्डको कोटा खारेज गरिनेछ । तर दम्पत्ति र १८ बर्ष नपुगेका छोराछोरीका लागि भने ग्रिनकार्ड आवेदन दिन सकिनेछ । पहिलेजस्तो २१ बर्ष नपुगेकाहरु ग्रिनकार्डका लागि आवेदन दिन योग्य हुनेछैनन् । यो विधयेक पारित भएमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका बुबाआमाले समेत अमेरिकाको ग्रिनकार्ड आवेदन गर्न पाउने छैनन् । बरु उनीहरुका लागि हेरचाहको उद्देश्यका लागिमात्र रिन्यु गर्न मिल्ने खालको अस्थायी भिसाको व्यवस्था गरिनेछ । त्यस्तै आप्रवासी भिसामा अमेरिका आउन लागेका अमेरिकी नागरिकका हजुरबा तथा हजुरआमा यो विधयेक लागु भएको एकबर्ष्भित्र आउने तय भएको खण्डमा उनीहरु अब अमेरिका आउने पाउनेछैनन् ।

तेश्रो, हरेक बर्ष ५० हजार आप्रवासी अमेरिका भित्राउने डिभी लोटरी जालसाजीले भरिएको भन्दै यो कार्यक्रम बन्द हुनेछ । यो कार्यक्रमको कुनै मानवीय र आर्थिक लक्ष्य नभएको तथा डाइभर्सिटीको समेत प्रवद्र्धन नगरेको भन्दै यो कार्यक्रम सम्पूर्ण रुपमा बन्द गरिनेछ । चौथो, यो विधयेक पारित भएमा हरेक बर्ष ५० हजारभन्दा धेरै शरणार्थीहरु अमेरिकामा भित्राइने छैन ।

अमेरिकामा बस्नेले कसरी भर्ने ? परे के गर्ने ?

 

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अरुसरह नै फारम भर्न सक्नेछन् । नेपाल डिभी लोटरीका लागि योग्य देशको सुचीमा रहेका कारण अमेरिकामा रहेका तर कागजपत्र नभएका नेपालीहरुले पनि डिभी लोटरी भरेर यो कार्यक्रमबाट फाइदा लिन सक्नेछन् ।

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति÷पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com