एनआरएनए बेलायतको चुनाव अनलाइनबाटै गरेको भए !

– रुद्र ढकाल ‘हलोवाला’

एउटा मिडिया, संस्कृति र समाज भन्ने बिषयको बिद्यार्थीको नाताले र मतदान अधिकृतको नाताले भर्खरै सम्पन्न बेलायतबासी गैह्र आवासिय नेपालीको चुनाबलाई नजिकबाट हेर्ने मौका मिल्यो। झ्वाट्ट हेर्दा यसपालीको यो एन आर एन युकेको चुनाबमा मतदाताहरुको चहल पहल निकै उत्साहजनक नै रहेको पाइयो र देखियो।

तरपनि करीब डेढलाख नेपाली जन संख्या भएको अनुमान गरिएको बेलायतमा एन आर एनको सदस्यता संख्या भनेको छुट पुट भएको ( पैसा तिरी सकेका तर नाम चढाउन छुटेको) समेत गरी लगभग ३७०० को हाराहारीमा पुगेको हुँदो हो। त्यो भनेको ज्यादै नै नगण्य अर्थात् बेलायतभरका कुल आप्रबासी नेपाली जनसंख्याको लगभग २.४६% मात्रै हो। यो मध्ये पहिले पहिले सदस्य बनेकाहरुले पनि यसपाली नबिकरण नगरेको समेत पाईयो।

यस्तो हुनुमा महँगो सदस्याता शुल्क नै दोषी भएको पाइयो। तर पनि बनेका सदस्यहरु मध्ये करीब ७०% को हाराहारीमा मत झरेको भन्ने सुनिएकोले यो मतदान भब्य रुपमा सम्पन्न भएको नै मान्नु पर्दछ। ‘जसरी पनि चुनाब जित्ने’ उमेद्वारहरुको रणनीति र महत्वाकांक्षाले गर्दा आफ्ना नजिकका मानिसहरुलाई सदस्यता बनाउने र भोटहाल्न लगाउने होड चलेको पनि देखियो। यसै शिलशिलामा ९० बर्षको बाजे-बजुलाई पनि सदस्यता भिराई बढो कष्टकासाथ् बोक्दै ल्याएर भोट हाल्न लगाएको पनि देखियो।

जे होस् लोकतान्त्रिक अभ्यासमा गैह्र आवासीय नेपाली संस्थाको यो चहल पहल र सक्रिय सदस्यहरुले यो कष्टपूर्ण कसरत अनि बौद्दिक बर्गहरुको उल्लेख्य सहभागिताले गर्दा बेलायती संसदको आमनिर्बाचनलाई पनि एनआरएनएले ठाडैसंग माथ खुवाएको भान हुन्थ्यो। हुन पनि बेलायत जस्तो महँगो ठाउँमा बसेर समयको कुनै पर्वाहै नगरी त्यत्रा जनशक्ति असरल्ल संग बिहान देखि बेलुकै सम्म कामै छोडेर यता र उत्ता गर्दै रनभुल्ल संग रमिते बनी त्यतिकै भुलीरहेको देख्दा यस्तो भान हुन्थ्यो कि नेपालीहरुले बेलायतमा के के न ठूलै काम सम्पन्न गर्दैछन्।

एकातिर बिहान देखि बेलुकी सम्म बाटा बाटामा रलल्लसंग रल्लिएको यो अपार जनसमुदायले देखाएको चुनाबी मोहले नेपालीहरुमा नेपालको चुनाबी तृष्णाले रुख्खिएका भन्ने भान हुन्थ्यो भने अर्को तिर यो “किं कर्तब्य बिमुढ”को भिडले सबै बेलायती समुदायहरुलाई उछिन्ने गरी नै लज्जित पारेको भान हुन्थ्यो। यो देखेर मलाई स्वयम् आफु भित्रभित्रै यति धेरै कुत्कुती लागेर आयो कि त्यो कुरो मा शब्दमा भनेर साध्यै छैन।

अहिले सम्म पनि खुत्खुताएर हाँस्दै छु मँ । सेप्टेम्बर ९, २०१७ को त्यो दिनमा करीब ३००० जना भन्दा बढी नेपालीहरुले NRNAको चुनाबको बहानामा सानो एक छिनको कामको लागि पनि आफ्नो दिन भरीको कमाई नै माया मारेर रमिते बनीरहेको पाईयो। यसको सट्टा मानिसहरुले त्यो दिनमा जम्मा ४ घण्टा मात्रै बाहिर श्रम बजारमा गएर काम गरेका भए पनि ४ x ७.५ = £३० औषतमा एक जनाले कमाई गरेका हुन्थे। यसमा ३००० जनाकै आधादिनको कमाईको कुल योग फल भनेको £९०,००० पाउण्ड अर्थात् अहिलेको £१=रु. १३३/- विनिमय दरले पनि एक छिन चार घण्टाको कमाईले रु. एक करोड १९ लाख सत्तरी हजार नेपाली रुपैयाँ हुन जान्थ्यो।

यतिका रकम श्रम दान् नै सम्झेर नेपालमा पठाएको भए कुनै एउटा बिकट गाउँमा झुलुङ्गे पुल बन्थ्यो होला या खानेपानीको ट्यांकी र धारा बन्थ्यो होला। कम से कम यतिकै गाउँ बिकासको लागि भनेर बिदेशीहरु संग टोकरी थाप्दै उनीहरुको स्वार्थ संग सौदाबाजी त गरिरहनु पर्थेन होला नि हामीहरुले ? निश्चय पनि समाज सेवा गर्दै जानु पर्छ। थोरै सदस्यता शुल्क राख्दै संस्थाको सदस्यहरुको सहभागिता बढाउंदै जानु पर्दछ अनि लोकतान्त्रिक तरिकले नेतृत्व चुन्दै जानु पर्दछ।

तरपनि के हामी नेपालीहरुले सँधै यस्ता संघ संस्थाहरुको नेतृत्व चुन्ने नाउँमा हरेक बर्ष यस्तो पुरानै भद्दा र लाजमर्दो तरीकाले बेकारमा जन शक्ति खेर फाल्दै अनि अशक्त बुढाबुढीहरुलाई समेत झ्याईंकुटी पार्दै महँगो चुनाबी गाईजात्रा देखाई रहने त? के यो जमानामा एउटा सानो ईलेक्ट्रोनिक भोट पद्दति अपनाएर कम खर्चमा यस्तो लोकतान्त्रिक अभ्यास गर्दै समाज सेवा गर्न सकिंदैन? सकिन्छ। पक्कै पनि सकिन्छ। त्यसो भए झन् पारदर्शी र मितव्ययी तरीकाले समाज सेवा गर्न सकिन्छ र यो बेकारको ढर्रा सँधै गरिरहनु पनि पर्थेन होला सूचना र प्रबिधीको यो जमानामा।

rudradhakal9@gmail.com

बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook