नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ घोषणा, आवेदन खुला


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

 

नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले महोत्सवको आयोजना गर्न लागेको हो । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र , एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृतिसम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइट www.nafilmsociety.org मा उपलब्ध छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com