बङ्गलादेश जाने क्रममा रोहिङ्गा समुदायका १०० जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

कोक्स बजार (बङ्गलादेश), २८ भदौ । म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ ।

गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन् । उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन् ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्ने क्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । तर सङ्ख्या भने स्पष्ट छैन ।

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा व्यापक विवाद सुरु भएको छ ।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् ।

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ ।

उनीहरुले नदी तर्ने क्रममा माछामार्ने र कमसल खालको डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो । सानो डुंगामा धेरै जना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com