अब ग्रिनकार्ड पाउन झन् ढिलो हुन्छ


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

– खगेन्द्र जीसी, कानुन व्यवसायी

युएससीआईएसले एसाइलीको परिवार र रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई अन्तरवार्ता अनिवार्य गर्दैछ । यसबारे थप जानकारी गराइदिनु हुन्छ कि ?

एसाइलीका अमेरिकामा रहेका परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई अन्तरवार्ता नगरिकनै ग्रिनकार्ड दिइदै आएको थियो । तर अब आगामी अक्टोबर १ बाट अन्तरवार्ता अनिवार्य गरिएको छ । यसले ब्याकलग सृजनागर्ने देखिन्छ । अहिले नै ग्रिनकार्डमा लामो समय लाग्ने गरी ब्याकलग रहेको अवस्थामा युएससीआईएस अधिकारीको उपलब्धता अनुशार अन्तरवार्ताको मिति तोक्नुपर्ने भएकाले ब्याकलग अझ बढ्ने देखिन्छ । ट्रम्प प्रशासनले नयाँ कर्मचारी नियुक्त नगर्ने र तीब्र गतिमा हुने केसमा पनि अन्तरवार्ता लगायतका झन्झट थप्दा ग्रिनकार्ड प्राप्त गर्न लामो समय लाग्ने अवस्था देखिन्छ । अर्कोतर्फ एसाइलीका परिवारलाई पनि अधिकारीले अन्तरवार्ताका क्रममा मुख्य आवेदकले फाइल गरेको आवेदनबारे सोध्न सक्ने अवस्था रहन्छ ।

अन्तरवार्ताको विधिले जालसाजी रोक्न कत्तिको सफल होला ?

जालसाजी रोक्न युएसससीआईएसले थप अनुसन्धान पनि गर्नेगर्छ । अन्तरवार्ता नहुने केसमा पनि जालजासी रोक्न अनुसन्धान नहुने भन्ने कुरा भएन । तर अन्तरवार्ता गर्दैमा जालसाजी रोकिन्छ भन्न सकिने अवस्था छैन । जालसाजी रोक्न औंठाछाप लिनेदेखि कागजात चेक गर्ने सम्मका युएससीआईएसका प्रकृयाहरु छन् । त्यसैले अन्तरवार्ताले ग्रिनकार्ड ढिलो गर्नेमात्र हो ।

एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड फाइल गर्नेलाई कतिबेला अन्तरवार्ता लिइनेछ ?

अमेरिकामा नै रहेर एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड फाइल गर्नेहरुका सन्दर्भमा अन्तरवार्ता लिइनेछ । आवेदकको आई १४० आवेदन स्वीकृत भएपनि आई ४८५ आवेदन अर्थात् ग्रिनकार्ड स्वीकृत गर्नुभन्दा अगाडि अन्तरवार्ता लिइनेछ । अन्तरवार्ताका क्रममा व्यक्तिगत पृष्ठभूमी र कागजात चेक गर्न सक्नेछन् । अन्तरवार्ता दिनुपर्ने भयो भनेर डराउनुपर्ने अवस्था छैन । तर आवेदक आफूले फाइल गरेको कागजातसँग फेमिलियारिटी हुनुपर्छ ।

अन्तरवार्तामा जाँदा के कुरामा ध्यान दिनुपर्ला ?

आफूले दिएको आवेदनको बारेमा तयारी गर्नुपर्छ । अन्तरवार्तामा दिंदा ओरिजिनल कागजातहरुका साथमा जानुपर्छ भने कागजातमा भएका कुराहरु याद गर्नुपर्छ । महत्वपूर्ण मिति र स्थानहरु याद हुनुपर्छ । पहिले पेश गरेका कागजात र अन्तरवार्तामा बोलेको कुरा बाझिनु हुँदैन । जालसाजी गरेको व्यक्ति अन्तरवार्तामा आउँदा डराउने मनोवैज्ञानिक अवस्थालाई पनि पहिचान गर्न युएससीआईएसले अन्तरवार्ताको व्यवस्था गरेको हुनसक्छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com