अदालतको आदेशको अवहेलना गर्नु षड्यन्त्र हो


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

– खगेन्द्र जीसी

एनआरएन एनसीसी अमेरिकाले आसन्न निर्वाचनको समयमा गठन गरेको तीन सदस्यीय समितिमा मलाई राखिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

अहिले हामी एनआरएन एनसीसी अमेरिकाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा छौं । तपाईंहरु सबैको साथ,सहयोग र समर्थनका कारण मैले पनि यस संस्थाको निर्वाचित अध्यक्ष भएर काम गरेको थिएँ । म आज त्यही नेतृत्व निरन्तरताकै कारण एनआरएन आइसीसीको सदस्यको रुपमा आवद्ध छु भने नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली मामिला हेर्ने सल्लाहकारको रुपमा मलाई नियुक्त गरेको छ । म सधैं गैर आवासीय नेपाली समुदायको हक,हित र अधिकार स्थापनाका लागि आफ्नो तर्फबाट क्रियाशील रही आएको छु ।

जहाँसम्म एनआरएन अमेरिकाको विगत,आइसीसीमा संस्थागत आवद्धता र पदाधिकारीको वैधानिकताको विषय छ, यस बारे म बुँदागत रुपमा प्रष्ट पार्न चाहन्छु ।

१. एनआरएन आइसीसीले सन् २००६ जनवरी २१ देखि नै तत्कालीन नेपलिज अमेरिकाज काउन्सिल (न्याक) लाई एनआरएनको राष्ट्रिय समन्वय समितिको रुपमा विधिवत मान्यता दिई काम गरेको दस्तावेज अभिलेख आइसीसीमा सुरक्षित छ । यस बारे आइसीसीले समेत पटकपटक पत्राचार गरी जानकारी गराई सकेको छ भने एनसीसी अमेरिकाको उम्मेदवारी विवाद बारे छानबीन गर्न आइसीसीले यस पहिले नै तीन सदस्यीय समिति गठन गरेको र सोही समितिले आवश्यक प्रमाण र दस्तावेजसहित एनसीसी अमेरिकाको आइसीसीसंगको आवद्धता र आसन्न निर्वाचनका लागि उम्मेद्वारी दिएका अध्यक्षका प्रत्यासी गौरीराज जोशीको योग्यता र बैधानिकता सम्बन्धी विवाद समाधान गरिसकेको छ । आइसीसी कार्यकारी सचिवालयले यस बारे अमेरिका क्षेत्रका संयोजक मार्फत निर्वाचन आयोगलाई २४ घण्टाभित्र सोही अनुसार कार्यान्वयन गर्नु गराउनु भनि पत्राचार समेत गरेर यो विवादको टुंगो लगाई सकेको छ ।

२. एनआरएन एनसीसीको न्यायिक समिति र गत सातामात्र टेनेसी अदालतले समेत यो विषयलाई सम्बोधन गरी समाधान गरिसकेको छ । सम्मानित कानुनी र संस्थाको सर्वोच्च निकायले समेत यस विषयलाई टुंगो लगाई सकेको अवस्थामा अब फेरि त्यही विषयका बारे छलफल र विवाद गरी राख्नु अदालतको आदेशको अवहेलना गरेको ठहरिन्छ । अदालतको आदेशको अवहेलना गर्नु भनेको षड्यन्त्र गर्नु भन्ने अर्थ लाग्छ । ज-जसले यसरी षडयन्त्र गर्छन् र अदालती आदेशको मानहानी र अवहेलना गरेको ठहर हुन्छ उनीहरु सबै कारवाहीको भागीदार हुन्छन् । तसर्थ अदालतले गरेको निर्णयलाई कार्यान्वयन नगर्ने भन्ने विषयमा षड्यन्त्र गरेको ठहरिने सक्ने र मअदालतको निर्णयको सम्मान नगर्नु हो । जुन म एनआरएन सदस्य र कानुन व्यवसायीको रुपमा कल्पना समेत गर्न सक्दिन ।

विगतमा एनआरएन मार्फत विभिन्न तह र जिम्मेवारीमा रहेर योगदान गरेका सबै सदस्यहरुको अभिलेख राख्नु र उहाँहरुको सेवा र समयको सम्मान गर्नु आवश्यक छ । तर त्यस्तो काम अब निर्वाचनपछि आउने नेतृत्वले मात्र गर्नुपर्छ । त्यसैले हामी सबैले तत्काल निर्वाचनका लागि जोड दिनु परेको छ ।
म अदालतको निर्णय,आइसीसीको निर्देशन र एनआरएन अमेरिकाको न्यायिक समितिको राय समेतलाई सम्मान गर्दै अविलम्ब निर्वाचन घोषणा गरियोस् भन्ने आग्रह गर्दछु र कार्य समितिले गठन गरेको समितिमा रहन नसक्ने प्रष्ट पार्दछु ।
आउनुस् तपाईं हामी सबै तत्काल निर्वाचनका लागि अघि बढौं र सम्पूर्ण एनआरएन सदस्यको अधिकारको सुनिश्चितता गर्न लागौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com