क्याटलन विवादमा मध्यस्थता गर्दैनौँः इयु


प्रकाशित मिति : कार्तिक ३, २०७४ शुक्रबार

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले स्पेनको क्याटलोनिया क्षेत्रको स्वतन्त्रताबारेको विवादमा इयुले मध्यस्थता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।

इयुको एउटा बैठक शुरु हुनुअघि बोल्दै उनले स्वतन्त्रतासम्बन्धी क्याटलोनियाको प्रयासले निम्त्याएको संकटबारे युरोपेली नेताहरुले छलफल ‘नगर्ने’ बताए।

यसअघि बिहीवार स्पेनी सरकारले स्वायत्ततासम्बन्धी क्याटलोनियाका केही अधिकारहरु खारेज गर्ने प्रक्रिया थालिने बताएको थियो।

तर क्याटलन नेता कार्लस पुज्डमनले त्यसो गरिए स्वतन्त्रतालाई आफूले अनुमोदन गरिदिने चेतावनी दिएका छन्।

क्याटलोनियाले स्वतन्त्रता थेग्न सक्ला?

क्याटलोनियाःस्वायत्तता ‘निलम्बित’ हुनसक्छ

कारबाही

उनले भने, “कुनै प्रकारको मध्यस्थता वा अन्तर्राष्ट्रिय पहल अथवा कारबाही गर्ने कुनै सम्भावना छैन।”

स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै क्यालोनियामा यही अक्टोबर १ तारिखमा जनमत संग्रह गराइएको थियो।

क्याटलन

तर स्पेनको संवैधानिक अदालतले त्यसलाई गैरकानूनी घोषणा गरिदिएपछि क्याटलोनियामा व्यापक प्रदर्शनहरु भए।

स्पेनले क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्ने प्रक्रिया थाल्ने बताएको केही घण्टा नबित्दै युरोपेली परिषद्का अध्यक्ष टुस्कले भने, “बिल्कुल विभिन्न कारणले म स्पेनका प्रधानमन्त्री मारिआनो राखोयसँग निरन्तर सम्पर्कमा छु, स्पेनको अवस्थाप्रतिको चासो लुकाउनुपर्ने केही छैन तर हाम्रो अडान स्पष्ट छ।”

समर्थन

जर्मन चान्सलर एंगेला मर्केल र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रों लगायतका युरोपेली नेताहरुले मड्रिडप्रति आफ्नो समर्थन जनाएका छन्।

इयुका नेताहरुले आप्रवासी समस्याबारे पनि छलफल गरेका छन्।

युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड योङ्करले आप्रवासीहरुको प्रवाह रोक्नका निम्ति अफ्रिकी मुलुकहरुलाई इयु सदस्य राष्ट्रले दिने भनेका आर्थिक सहयोगको हालसम्म पाँच प्रतिशत रकम मात्रै प्राप्त भएको बताएका छन्।

युरोपेली मुलुकहरुले आप्रवासीहरुको प्रवाह रोक्नका लागि ३ अर्ब ७० करोड डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com