इन्जिनियरको कुर्सीमा कुलमानः यसरी गर्दैछन् विजुली व्यवस्थापन


प्रकाशित मिति : कार्तिक ३, २०७४ शुक्रबार

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति भारप्रेषण केन्द्रमा व्यस्त छन् । उनका आज वर्षकै सबैभन्दा ठूलो चुनौतिको दिन हो ।

किनभने नेपालमा सबैभन्दा बढी विजुली माग हुने दिन लक्ष्मीपूजा आजै हो । देशभर आज साँझ बत्ती नकाट्ने योजना सफल बनाउन उनी केन्द्रको मास्टर स्टेसनमा बसेर इन्जिनियरको भूमिका निर्वाह गहरिरहेका छन् ।

घिसिङले गतवर्ष लक्ष्मीपूजाकै दिन यही मास्टर स्टेसनमा बसेर काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने निर्णय गरेका थिए ।

स्टेसनका इन्जिनियरहरु नै उनको लोडसेडिङ हटाउने संकल्पको साक्षी थिए । आज उनी यिनै इन्जिनियरसँग मिसिएर काम गरिरहेका छन् ।

सिस्टम सञ्चालन, माग र आपूर्तिको अवस्थालाई उनी आफैं कन्ट्रोल गरिरहेका छन् ।

भारप्रेषण केन्द्र विद्युत प्राधिकरणको मुख्य कन्ट्रोल युनिट हो । यो युनिटमा २२ जना इन्जिनियर छन् ।

केन्द्रले माग र आपूर्तिको सन्तुलनका लागि व्यवस्थापकीय काम गर्छ । समस्या आएका समयमा प्रबन्ध निर्देशक घिसिङ आफैं पनि यहाँ आइपुग्छन् ।


भक्तपुरको सब स्टेसनमा समस्या आएपछि बेलुका ७ बजेमात्र मास्टर स्टेसन पुगेका थिए । काम नसकाए सम्म उपनी दिनभर भक्तपुरमै बसे ।

कुलमानले भने- ‘लक्ष्मी पुजाको दिन देशभर १५ सय मेगावाट बिजुली माग थियो । नपुगेर लाइन काट्नु परेन ।’ यदि थप १ सय मेगावाट विजुली माग भएको भएपनि पुर्‍याउन सकिने कुलमालले बताए ।

धेरै बिजुली माग हुने चाडपर्वका महत्वपूर्ण दिनमा घिसिङ मास्टर स्टेसनमा बसेर कन्ट्रोलका लागि आइडिया सेयर गर्छन् । आज पनि उनी यही भूमिका निभाइरहेका छन् ।

यो स्टेसनमा अनलाइनमा आधारित कन्ट्रोल सिस्टम छ, जसमा कहाँ, कुन आयोजनाले कति उत्पादन गरिरहेका छन् भन्ने जानकारी आउँछ ।

निजी आयोजना र प्राधिकरणअन्तर्गतका आयोजनाको उत्पादन अवस्थाबारे ताजा सूचना यही प्रणालीमा निरन्तर आइरहेको हुन्छ । आयोजनाका कुन-कुन जेनेरेटर चलेका छन् या छैनन् भन्नेसम्मका जानकारी यहाँ आउँछ ।

सँगै कुन आयोजनाबाट उत्पादित बिजुली कुन प्रसारणलाइनमार्फत् कता पठाइएको छ भन्ने जानकारी पनि यही प्रणालीबाट देखिन्छ ।

यस्तै, कुन अन्तरदेशीय प्रसारण लाइनबाट कति बिजुली आयात भइरहेको छ भन्ने पनि यहाँका प्राविधिकले हेर्न पाउँछन् । कुन सबस्टेसनमार्फत् कति बिजुली माग र आपूर्ति भइरहेको छ भन्ने पनि यही प्रणालीमा हेर्न सकिन्छ ।

यो जानकारी राख्ने मात्रै होइन, मागको अवस्था हेरेर त्यसलाई प्राविधिक रुपले कन्ट्रोल गर्ने ठाउँ पनि हो । अर्थात्, मागअनुसार कुन आयोजना चलाउने/नचलाउने, कुन नाकाबाट बिजुलीको आयात गर्ने/नगर्ने तथा कति परिमाणमा गर्ने भन्नेलगायत निर्णय यही मास्टर स्टेसनका प्राविधिकले गर्छन् । आज उनीहरुलाई कुलमानले साथ दिइरहेका छन् ।


माग र आपूर्तिलाई सन्तुलनमा राख्न उनीहरुले नै आवश्यक प्राविधिक निर्णयहरु गर्नुपर्छ । कुनै भागमा माग बढेका बेला कुन भागको आपूर्ति कटाउने र मागभन्दा आपूर्ति धेरै भए कहाँबाट घटाउने भन्नेसम्मका निर्णय यहीँबाट गरिन्छ ।

त्यसैले कन्ट्रोलमा बसेका बेला प्राविधिकलाई अतिरिक्त कुरामा ध्यान दिने र अलमलिने छुट छैन । संवेदनशील मानिने विद्युत् प्रणालीको व्यवस्थापनमा उनीहरुले सबस्टेसन र जलविद्युत् आयोजनासँग निरन्तर संवाद गरिरहनुपर्छ ।

भारप्रेषण केन्द्रमा आज कामको उच्च चाप छ । आजै बिजुलीको उच्च माग हुने हुन्छ । घर-घरमा झिलीमिली बत्ती बाल्न सुरु भइसक्दा मागअनुसार आपूर्ति धान्न ठूलो चुनौति छ ।

त्यसकै व्यवस्थापनका लागि प्राधिकरणका उच्च अधिकारीहरु पनि मास्टरस्टेशनमा आएका छन् । आज देशभर लोडसेडिङ नगर्ने योजना सफल बनाउन प्राधिकरणको टिम नै लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com