२०१७ का डिभी लोटरी विजेता नेपालीमाथि सिमाबन्दी, ७४५० भन्दा माथि केस नम्बर हुनेहरुलाई भिसा नदिइने


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

अमेरिकी सरकारको विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिन प्रकाशित गर्दै सन् २०१७ का लागि डिभी परेका नेपालीहरुमध्ये ७४५० भन्दा माथि केस नम्बर हुनेहरुलाई भिसा नदिइने स्पष्ट पारेको छ । सन् २०१७ का लागि डिभी परेकाहरुले अमेरिकी भिसा पाइसक्नुपर्ने मिति आगामी सेप्टेम्बर ३० सम्ममात्र हो । ७०७५ सम्म केस नम्बर हुने नेपालीहरुले आगामी अगस्तसम्म भिसाको प्रकृया पूरा गर्नसक्नेछन् । यसरी हेर्दा सन् २०१७ का लागि डिभी लोटरी परेका नेपालीहरुमध्ये ५ सय भन्दा धेरै अमेरिका आउन नपाउने भएका छन् । सन् २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी लोटरी परेको थियो । अमेरिकी सरकारले डिभी लोटरीका लागि छनौट गर्दा विभिन्न ६ वटा क्षेत्रमा विभाजन गरेर केस नम्बर उपलब्ध गराउँछ ।

डिभी लोटरीमा छनौट हुँदैमा अमेरिका आउने र ग्रिनकार्ड पाउने ग्यारेन्टी भने हुँदैन । डिभी लोटरी परेका कैयन नेपालीहरु अमेरिका आउनभने पाउँदैनन् । संसारभरबाट डिभी लोटरी विजेताहरुमध्ये ५० हजारका लागि भिसा उपलब्ध हुने नियम छ । जसअनुशार एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने अमेरिकी सरकारको नियम रहेको छ । तर डिभीको छनौट प्रकृयामा कैयन व्यक्ति अयोग्य हुने र कैयन अमेरिका नआउने भएकाले उपलब्ध हुने भिसा नम्बर भन्दा धेरैलाई लोटरी पार्ने गरिन्छ । ५० हजारको भिसा संख्या सबै प्रयोग होस् भन्ने उद्देश्यले धेरैलाई लोटरी पारिन्छ ।

यसरी हेर्दा सन् २०१८ का लागि डिभी लोटरी परेका ४०९७ जना नेपालीमध्ये झण्डै ३५ सयलेमात्र भिसा पाउनेछन् बाँकी ६ सय भन्दा धेरैले भने भिसा नपाउने निश्चित छ । सन् २०१८ का डिभी लोटरी विजेताहरुमध्ये ६ सय भन्दा धेरै डाइभर्सिटी भिसा पाउन अयोग्य हुने देखिएको छ । २०१८ का लागि पनि ५० हजारले भिसा पाउनेमा १ लाख १५ हजार ९ सय ६८ जनालाई डिभी कार्यक्रमका लागि छनौट गरिएको छ । सन् २०१८ को डिभी लोटरी कार्यक्रममा विश्वभरबाट १ करोड ४६ लाख ९२ हजार २५८ जनाले लोटरी भरेका थिए । उनीहरुका आफन्तहरुसहित २ करोड ३० लाख ८८ हजार ६१३ जना डिभी कार्यक्रममा सहभागी भएका थिए ।

आर्थिक बर्ष २०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि ५ सय ५४ जना डिभी विजेता नेपालीहरु भिसा पाउन अयोग्य भएका थिए ।

इतिहास हेर्दा सन् २००३ मा २३२० नेपालीलाई डिभी लोटरी परेकोमा १७५४ जनामात्र अमेरिका आउन पाए, ५६६ जनाले भिसा पाएनन् । सन् २००४ मा ४२५९ जनालाई डिभी लोटरी परेकोमा १७७५ जनाले भिसा पाए भने २४८४ जना अमेरिका आउन पाएनन् । त्यस्तै सन् २००५ का लागि २६९८ जना नेपालीले डिभी लोटरी पारेपनि १७८९ जनालेमात्र भिसा पाए, ९०९ जनाले भिसा पाएनन् ।

सन् २००६ मा १९३४ जनालाई डिभी लोटरी परेको थियो भने १४५७ जना भिसा पाएर अमेरिका आए भने ४७७ जनाले भिसा पाएनन् । त्यस्तै सन् २००७ मा १५२९ जनालाई डिभी लोटरी परेको थियो तर ११९१ जनालेमात्र भिसा पाए, ३३८ जनाले पाएनन् । त्यस्तै सन् २००८ मा २५६२ जनालाई डिभी लोटरी परेकोमा २०७३ जनाले भिसा पाएका थिए, ४८९ जना अमेरिका आउन पाएनन् ।

सन् २००९ मा १८९१ जना नेपालीहरुलाईमात्र डिभी लोटरी परेको थियो । तर १६१५ जनामात्र भिसा पाएर अमेरिका आए, बाँकी २७६ जना अमेरिका आउन पाएनन् । त्यस्तै सन् २०१० मा २१३२ जनालाई डिभी लोटरी परेकोमा १९३६ जनाले भिसा पाए, बाँकी १९६ जनाले पाएनन् । सन् २०११ मा २१८९ जनालाई डिभी लोटरी परेको थियो, जसमध्ये २०१७ जना अमेरिकामा आए भने १७२ जनाले भिसा पाएनन् । सन् २०१२ मा भनृ ३२५८ जनालाई डिभी लोटरी परेको थियो । यो बर्ष १९५३ जनालेमात्र भिसा पाए १३०५ जनाले पाएनन् ।

त्यस्तै सन् २०१३ मा ४३७० जना नेपालीहरुलाई डिभी लोटरी परेको थियो । उनीहरुमध्ये ३३७७ जनाले भिसा पाएर अमेरिका आएपनि ९९३ जनाले भने भिसा पाएनन् । सन् २०१४ को कार्यक्रमका लागि अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ६०८२ जना नेपालीले डिभी लोटरी पारे । यो बर्षको कार्यक्रममा डिभी लोटरीबाट इतिहासमा नै सबैभन्दा धेरै ३५०४ जना नेपालीहरु अमेरिका आए भने इतिहासमा नै सबैभन्दा धेरै २५७८ जनाले अमेरिकाको भिसा पाएनन् । सन् २०१५ मा ४९९१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए तर ३३७० जनाले भिसा पाए भने बाँकी १६२१ जनाले पाएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com