वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउँछः माधव नेपाल


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

५ मंसिर, चितवन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभामा पनि वाम गठबन्धनले दुई तिहाई सिट ल्याएर पाँच वर्ष मुलुकको नेतृत्व गर्ने दाबी गरेका छन् ।

माओवादी अध्यक्ष प्रण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ को भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय चुनावमा वाम गठबन्धनमा रहेका एमाले र मओवादी केन्द्रले जितेको सिट जोड्दा ६१ प्रतिशत हुन आउने बताउँदै त्यसलाई बढाएर दुई तिहाई सिट ल्याउने दाबी गरे ।

प्रचण्डका लागि भोट माग्दै नेता नेपालले चितवन जिल्लाको मात्रै नभई समग्र मुलुकको बिकास र समृद्धिका लागि प्रचण्डले जित्नु अत्यावश्यक रहेको बताए । उनले भने, ‘समाज परिवर्तनका लागि १२ वर्ष संघर्ष गरी राज्यसत्तालाई कमजोर पार्ने क्षमता भएका प्रचण्डको विकासका योजनाहरु झन् कति होला ?

नेता नेपालले १२ वर्षको अवधिमा नेपालको शान्ति प्रक्रियालाई सुरक्षित अवतरण गर्न सफल भएकोमा
माओवादी अध्यक्ष प्रचण्डको प्रशंशा गरे ।

कम्युनिष्टले जितेमा रुन पनि पाइँदैन, अधिनायकबाद आउँछ भन्ने हल्ला फैलाएर जनतालाई झुठो बोलेको बताए । नेपाली वामपन्थीहरुमात्रै सच्चा राष्ट्रवादी भएको भन्दै उनले भने, ‘जनता सचेत छन्, धेरै झूठ नबोल्नुस् ।’

सीता दाहाल मञ्च बस्न सकिनन्

चितवनमा मंगलबार आयोजित वाम गठबन्धनको चुनावी सभामा प्रचण्ड र सीता दाहाल सँगै उपस्थित थिए । यही क्रममा सीता दाहाललाई केही अप्ठ्यारो महसुस भएपछि सुरक्षाकर्मीहरुले हातमा समातेर मञ्चबाट बाहिर आराम गराउन लगेका छन् ।

केहिबेरपछि उनी पुनः मञ्चमै फर्किएकी छन् । एमाले नेता तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कृष्ण भक्त पोखरेलले सम्बोधन गर्दै गर्दा उनी सारीको सप्को मुख छोपेर रोइरहेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com