हुम्लालाई आत्मनिर्भर बनाउने जनप्रतिनिधिको प्रतिवद्धता


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा, स्वास्थ्यका साथै स्थानीय स्रोत साधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिमिकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले स्थानीय साधन स्रोतको भरपुर उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भोकमरी र हिउँको विषयलाई भन्दा अन्य विषयलाई अगाडि ल्याउनु पर्ने धारणा राखे ।

सर्केगाडा गाउँपालिका अध्यक्ष जोशी धामीले आवास, खानेपानी, सडक, विजुलीलाई प्राथमिकतामा राखेको बताए । उनले  सिंहदरवारको अधिकार गाउँमा पुगेको बताउँदै जनतालाई सेवा दिन व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने प्रतिवद्धता जाहेर गरे ।
अन्तरक्रिया कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले आफ्नो गाउँपालिकाका जनतालाई चामल निर्भर भन्दापनि
आत्मनिर्भर बन्ने कार्यक्रम अगाडि बढाउने बताए । काठमाडौंबाट सिमिकोट टाढा भएजस्तै सिमिकोटबाट आफ्नो गाउँपालिका दुर्गम भएका बताउँदै लामाले स्वाथ्य, शिक्षका साथै कृषिलाई आधुनिकरण गरेर जनतालाई आत्मनिर्भर बनाउने बताए । ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले हुम्ला राष्ट्रिय सडक सञ्जालका साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर हुम्लीलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले सडक सञ्जालमा हुम्लालाई जोड्नु पर्ने कुरामा जोड दिँदै आत्मनिर्भरताको लागि स्थानीय जल, जमिन र जंगल, जडिबुटीलाई उपयोग गरेर जनतलाई आत्मनिर्भर बनाउने योजना बनाएको बताए । उनले आगामी चार वर्षसम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम अगाडि बढाउन पहल गर्ने बताए । अध्यक्ष फडेराले आफूलाई बाटो बिराए सर्तक गराउन सञ्चारकर्मीसँग आग्रह गरे ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले स्थानीय उत्पादनलाई बजारीकरण गर्नलाई सडक हुम्ला सडक सञ्जालमा जोडिनुपर्ने बताए । स्थानीय उत्पादनलाई आधुनिकीकरण गरेर भोकमरीको अन्त्य गर्न सकिने बताए । त्यसैगरी चंखेली गाउँपालिकाकी उपाध्यक्ष विमला कुमारी शाहीले नयाँ संरचनापछि बनेको स्थानीय तहमा नयाँ संस्कार र संस्कृतिका विकास पहिलो प्राथमिकता रहेको बताइन् । उनले विगतको जनप्रतिनिधिहरुको संस्कार र संस्कृतिलाई नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै महिलामाथि हुने घरेलु हिंसा, छुवाछुतको अन्त्य गर्ने बताइन् । त्यस्तै सिमकोट गाउँपालिकाकी उपाध्यक्ष बलि रावत र ताँजाकोट गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाले पनि मतदाताको चाहनाअनुसार काम गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com