स्वयम्भूबाट देखिएको दीपावली, यसरी मनाइयो लक्ष्मीपूजा


प्रकाशित मिति : कार्तिक ३, २०७४ शुक्रबार

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन  ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा  बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सर सफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसालाई पनि पूजा गरेर फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिइन्छ ।  घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यका लगायत देशका प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ । उपत्यकामा दसैँको भन्दा बढी नै चहलपहल छ ।

भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उहाँले भन्नुभयो ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दान दिएमा पूण्य प्राप्त हुने धार्मिक बिश्वास छ ।

तस्बिर : लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट काठमाडौँ उपत्यकामा देखिएको दीपावलीको मनोरम दृश्य । प्रदीपराज वन्त/ रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com