दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुन्छः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले धेरै ठूलो मिहिनेतपछि र लामो समयको अन्तरालपछि नयाँ सन्दर्भमा स्थानीय तहको पहिलो चरणकोे निर्वाचन सम्पन्न भएको बताउनुभयो । दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो “अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ ।”

दोस्रो चरणको निर्वाचन सम्पन्न गरिसकेपछि परिवर्तन संस्थागत मात्रै नभएर जनताको सहभागितामा कल्पना गरेभन्दा राम्रो विकास हुने उहाँले बताउनुभयो । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दा आफ्नो जिम्मेवारी पूरा भएको महसुस भएको छ भन्दै उहाँले आफूलाई कसले जित्छ, कसले हार्छ भन्ने आफूलाई नलागेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसले जिते पनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ ।”

लामो समयदेखि कृषि र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्तिमाथिको विवाद अन्त्य गर्न आफू सफल भएको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।

सोही अवसरमा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले विश्वविद्यालय कृषि विकास मन्त्रालयअन्तर्गत रहनुपर्ने बताउँदै विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रसारमा लागेमा कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने छ भन्नुभयो ।

कार्यक्रममा सांसद शेषनाथ अधिकारी र कृष्णभक्त पोखरेलले चितवनवासीको ठूलो सङ्घर्षबाट स्थापित विश्वविद्यालयलाई संस्थागत रुपमा विकास गरेर लैजान सरकारी तवरबाट सहयोगको खाँचो औँल्याउनुभयो ।

विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा कैलाशनाथ प्याकु¥यालले विश्वविद्यालयमा प्रयोगात्मक पढाइ नभएमा गुणस्तरीय शिक्षा दिन नसकिने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमले जिल्लामा विश्वविद्यालय स्थापना गर्न सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा हालसम्मको उपलब्धिका बारेमा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।

विसं २०७० माघ २३ गते ३० महिनामा सम्पन्न गर्ने गरी अनक लुम्बिनी बङ्गलामुखी ज्वाइन्ट भेन्चरलाई सम्झौता गरी रु ३५ करोड ३४ लाख ८८ हजारमा निर्माणका लागि जिम्मा दिइएको थियो । विश्वविद्यालयका रजिस्ट्रार प्रा डा मनराज कोलाक्षपतिका अनुसार भूकम्प र नाकाबन्दीका कारण समयमा काम सम्पन्न गर्न नसकेपछि आउँदो असारसम्म सम्पन्न गर्ने गरी नौ महिना समय अवधि थप गरिएको थियो । विश्वविद्यालयमा एक हजार ८८३ विद्यार्थी अध्यनरत छन् ।

दोस्रो चरणको निर्वाचन झन् उत्साहपूर्ण

नवलपरासी–प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि अझ बढी उत्सवपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नवलपरासीको रजहरस्थित शाश्वतधाममा आज पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मधेस केन्द्रित राजनीतिक दललगायत सबै दलको सहभागितामा दोस्रो चरणको निर्वाचन हुने बताउनुभयो ।

पहिलो चरणको निर्वाचनलाई सरकारले निकै सफलताका रुपमा लिएको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते नै सम्पन्न हुने छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले आजै दुम्कौलीस्थित शाश्वत धाम पूजाआजा गर्नुुभयो । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरिएकामा आफू प्रभावित भएको बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com