नेपालमै बसेर अमेरिकाको ग्रिनकार्ड, यसरी गर्नुहोस् फाइल


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

-किशोर पन्थी /न्युयोर्क

कोही व्यक्ति क्षमतावान छ भने नेपालमा नै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सक्ने अमेरिकी सरकारको प्रावधानमा फेरबदलको तयारी भइरहेको छ । यसप्रकारको ग्रिनकार्ड ईबी वानका लागि देशीय कोटा हटाउने लगायतका प्रावधानसहित सदनमा विधयेक प्रस्तुत भइसकेकाले आवेदन दिन चाहने नेपालीहरुले यथाशक्य दिन कानुन व्यवसायीहरुले सुझाव दिएका छन् । यस्तो प्रकारको आवेदन आवेदकले वकिलको सहायताविना आफैपनि दिनसक्छन् ।

यसरी जाँच्नुहोस् आफ्नो क्षमता

यदि तपाईमा तलका १० मध्ये ब्यापार, विज्ञान, कला, शिक्षा र खेलकुदका क्षेत्रमा कुनै तीनवटा क्षमता छ भने तपाई ग्रिनकार्डका लागि योग्य हुनसक्नुहुनेछ ।

१, तपाईले आफ्नो क्षेत्रमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पुरस्कार प्राप्त गरेको हुनुपर्छ ।

२, आफ्नो क्षेत्रको त्यस्तो संस्थाको सदस्य हुनुपर्छ, जुन संस्थाको सदस्य त्यो क्षेत्रमा ख्यातीप्राप्तमात्र बन्न सकुन् ।

३, तपाईको बारेमा मुलधारको संचारमाध्यममा प्रकाशित भएको हुनुपर्छ ।

४, व्यक्तिगत वा प्यानलमा सहभागी भएर तपाईले आफ्नो क्षेत्रको कुनै कामको निर्णायकमण्डलमा बसेको हुनुपर्छ ।

५, आफ्नो क्षेत्रमा अत्यन्तै महत्व राख्ने र मूलप्रकारको योगदान दिएको हुनुपर्छ ।

६, व्यवसायीक र मुलधारको संचारमाध्यममा तपाईले लेखेको विद्यतापूर्ण लेख प्रकाशित भएको हुनुपर्छ ।

७, तपाईको काम प्रदर्शनीमा वा शोकेसमा राखिएको हुनुपर्छ ।

८, कुनै प्रतिष्ठित संस्थामा मुख्य र नेतृत्वदायी भूमिका निर्वाह गरेको हुनुपर्छ ।

९, आफ्नो क्षेत्रमा अरुको तुलनामा सबैभन्दा धेरै तलब प्राप्त गरेको हुनुपर्छ ।

१०, कलाकार भएमा आफ्नो कला व्ययापारिक रुपमा सफल भएको हुनुपर्छ ।

यी १० वटामध्ये तीनवटामात्र योग्यता पूरा गर्ने व्यक्ति अमेरिकी ग्रिनकार्डका लागि योग्य हुनसक्छ । वा ओलम्पिक मेडल, ओस्कार जस्ता पुरस्कार प्राप्त गरेको खण्डमा भने त्यस्तो व्यक्तिले १० वटामध्ये तीनवटा योग्यतापनि पूरा गर्नु पर्दैन, सिधै अमेरिकी ग्रिनकार्डका लागि योग्य हुन्छ ।

असाधारण योग्यताको ग्रिनकार्डबारे थप जानकारी अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा उपलब्ध छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोला ।

यदि कुनै व्यक्तिको असाधारण योग्यता छ भने र त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न चाहन्छ भने उसले ग्रिनकार्डका लागि आवेदन दिनका लागि अमेरिका आइरहन पर्दैन । अमेरिकामा विगत साढे २ दशकदेखि कानुन व्यवसायमा सकृय नेपाली कानुन व्यवसायी खगेन्द्र क्षेत्री भन्नुहुन्छ– ‘त्यस्ता क्षमतावान व्यक्तिले नेपालमै बसेको अवस्थामा पनि ग्रिनकार्डका लागि आवेदन दिनसक्छन् । यदि ग्रिनकार्डको आवेदन स्वीकृत भएमा त्यस्तो व्यक्तिले डिभी परेका व्यक्तिले जस्तै सिधै अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्छ । ’

अमेरिका आइसकेका व्यक्तिले दिने आवेदन र नेपालमा नै रहेका व्यक्तिले दिने आवेदनको प्रकृया एउटै भएका कारण आवेदन स्वीकृतिको चान्स पनि एउटै भएको कानुन व्यवसायीको भनाई छ । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –‘जसरी असाधारण योग्यता भएको व्यक्तिले अमेरिकामा आइसकेपछि यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन्छ, त्यसरी नै नेपालमा रहेको व्यक्तिले अमेरिकाको कुनै कानुन व्यवसायी लिएर ग्रिनकार्डका लागि आवेदन दिनसक्छ । फरक यत्ति हो कि अमेरिकामा रहेको व्यक्तिको ग्रिनकार्ड स्वीकृत हुँदा ऊ बसिरहेको अमेरिकाको ठेगानामा ग्रिनकार्ड आउँछ । तर नेपालमा बसिरहेको व्यक्तिको ग्रिनकार्ड स्वीकृत भएमा अमेरिकाको नेशनल भिसा सेन्टरले स्वीकृत भएको विवरण नेपालको अमेरिकी दूतावासमा पठाउँछ ।’

यदि तपाई यस्तो प्रकारको ग्रिनकार्डका लागि आवेदन दिन तयार हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । 

नेपालको दूतावासमा आप्रवासी भिसाका लागि आवेदन दिएपछि दूतावासले ग्रिनकार्ड स्वीकृत भएको व्यक्तिलाई भिसा उपलब्ध गराउँछ । अमेरिकामा आइसकेपछि सुरुमा कहाँ बस्ने भन्ने ठेगाना दूतावासमा उपलब्ध गराउनुपर्छ । त्यही ठेगानामा अमेरिकी सरकारको युएससीआईएसले हुलाकमार्फत ग्रिनकार्ड पठाइदिन्छ । अन्य आप्रवासी भिसा सरह नै असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड स्वीकृत भएका व्यक्तिले पनि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् भने अमेरिकामा आइसकेपछि ग्रिनकार्डका लागि आवेदन दिँदा अमेरिकाको सरकारले लिने शुल्क र नेपालबाट लाग्ने शुल्क पनि उस्तै भएकाले क्षमतावान व्यक्तिले नेपालबाटै आवेदन दिएर सहजै ग्रिनकार्ड प्राप्त गर्न सक्छन् ।

अमेरिकाका चर्चित तथा युवा नेपाली कानुन व्यवसायी बासु फूलारा भन्नुहुन्छ –‘ तपाईको विज्ञान, कला, शिक्षा, ब्यापार र खेलकुदमा असाधारण योग्यता, प्रतिभा र सामथ्र्य छ भने वा उल्लेखित क्षेत्रमा तपाईले आफ्नो नाम सबैभन्दा माथि राख्नु भएको छ भने तपाईले राष्ट्रियवा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धीको विस्तृत र दरिलो प्रमाण वा दस्तावेजका आधारमा तपाईले आफूलाई असाधारण व्यक्ति प्रमाणित गर्दै ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाईले आफूलाई राष्ट्रियवा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्ति प्रमाणित गर्न सक्नुपर्छ । तपाईले राष्ट्रियर अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीले अमेरिकाको कार्यान्यवन गर्ने कानुनमा उल्लेखित १० वटा योग्यताप्राप्त आधारमध्ये तीनवटा प्रमाणित गर्न सक्नुपर्छ ।’

खुशीको कुरा के छ भने यसरी ग्रिनकार्डका लागि निवेदन दिंदा कुनै रोजगारीको प्रस्ताव या स्पोन्सरको आवश्यकता पर्दैन । अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै व्यक्ति अमेरिकामा आउँदा असाधारण योग्यता भएको क्षेत्रमा काम जारी राख्ने प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै आवेदकको अमेरिकाको आगमनले गर्दा अमेरिकालाई लाभ हुनुपर्छ ।

 

कस्तो व्यक्तिले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्छ ?

असाधारण योग्यताको आधारमा ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी वान श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिने व्यक्तिले तोकिएका १० वटामध्ये तीनवटा विषय प्रमाणित गर्नसक्नुपर्ने अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसले जनाएको छ । कुनै व्यक्तिले राष्ट्रियस्तरको पुरस्कार पाएको छ , उसको बारेमा राष्ट्रिय स्तरका पत्रिकाहरुमा लेखरचनाहरु प्रकाशित भएका छन् र उसले सम्बन्धित राष्ट्रिय स्तरकै कुनै काममा निर्णायक मण्डलमा रहेर काम गरेको कुरा अमेरिकी सरकार समक्ष प्रमाणित गर्न सकेको खण्डमा उसले असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।

नेपालबाटै आफै फाइल गर्दा कन्सुल प्रोसेसमार्फत जानुपर्छ । तपाईको आई १४० स्वीकृत भएपछि युएससीआईएसले डिपार्टमेन्ट अफ स्टेटसँग काम गर्छ । यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको, आफ्नै क्षेत्रको कुनै प्रतिष्ठित संस्थामा सदस्य रहेको, राष्ट्रियपत्रिकामा उसको बारेमा सामाग्रीहरु प्रकाशित भएको, कुनै प्रतियोगितामा निर्णायक मण्डलमा रहेर काम गरेको, आफ्नै क्षेत्रको सन्दर्भमा राष्ट्रियप्रकाशनमा विशेष प्रकारको लेख लेखेको, कुनै विशिष्ट क्षेत्रमा वैज्ञानिक, बौद्धिक, कलात्मक, खेलबाट वा विजनेश सम्बन्धित विशिष्ट योगदान दिएको, कलाकार भएको खण्डमा उसको कला प्रर्दशनीमा राखिएको, कुनै संगठनमा बसेर नेतृत्वदायी र महत्वपूर्ण भूमिका खेलेको, आफ्नो क्षेत्रको काममा उच्च तलब प्राप्त गरेको र कलाकार भएको खण्डमा उसले व्यवसायिक रुपमा सफलता प्राप्त गरेको १० वटा बुँदाहरुमध्ये ३ वटामात्रै बुँदा प्रमाणित गर्न सकेको खण्डमा त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ ।

यदि कुनै व्यक्ति कलाकार, पत्रकार वा खेलाडी नभई असाधारण योग्यताको प्राध्यापक वा शोधकर्ता छ भनेपनि उसले असाधारण योग्यताका आधारमा अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ । तर त्यसका लागि उसले विभिन्न ६ वटामध्ये २ वटा कुराहरु प्रमाणित गर्न सक्नुपर्छ । आफ्नो क्षेत्रका आधारमा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको, उसको क्षमताका कारण सम्बन्धित संस्थामा सदस्यता प्राप्त गरेको, उसको बारेमा राष्ट्रियस्तरका संचारमाध्यममा प्रकाशित भएको, आफ्नै क्षेत्रको काममा निर्णायक मण्डलमा रहेर काम गरेको, ओरिजिनल रिसर्च गरेको, आफ्नो क्षेत्रमा पुस्तक निकालेको वा कुनै जर्नलमा लेखहरु लेखेकोमध्ये दुईवटा विषय प्रमाणित गर्न सक्ने प्राध्यापक वा शोधकर्ताले पनि विशिष्ट श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न सक्ने युएससीआईएसले जनाएको छ । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –उत्कृष्ट प्राध्यापक वा शोधकर्ताले ग्रिनकार्डका लागि आवेदन दिंदा उसको क्षमता अमेरिकाको राष्ट्रियस्वार्थसँग मेल खाने प्रमाणित गर्न सक्नुपर्छ । अन्यथा अमेरिकाबाट रोजगारदाताले जागिरका लागि अफर गरेको पत्र आवश्यक पर्छ ।

कतिले पाउनसक्छन् यसरी ग्रिनकार्ड ?

प्रत्येक वर्ष अमेरिकामा विश्वका १ लाख४० हजार आप्रवासी निवेदकहरुले रोजगारीमा आधारित ग्रीनकार्ड प्राप्त गर्न सक्छन् । तर एउटा देशका नागरिकले उपलब्ध कोटा १ लाख ४० हजारको अत्याधिक ७ प्रतिशत अर्थात ९ हजार ८ सय जनालेमात्र ग्रीन कार्ड लिन पाउँछन । गणितीय हिसाब ले भन्नु पर्दा कुल १ लाख ४० हजार ग्रीनकार्ड मध्ये संसारभरका हरेक देशलाई बराबार ७ प्रतिशतका हिसाबले भाग लगाउदा एउटा देशलाई ९ हजार ८ सय ग्रिनकार्डको कोटा पर्न आउँछ ।

कानुन व्यवसायी फूलारा भन्नुहुन्छ –‘यसरी कोटा निर्धारण गर्दा पहिले १ लाख ४० हजार ग्रीन कार्ड कोटालाई विभिन्न रोजगारीका आधारमा ५ वटा अर्थात् इबी वानदेखि इबी फाइभसम्म ग्रीन कार्ड पाउने वर्ग अर्थात् भागहरुमा प्रतिशत र संख्या का आधारमा विभाजन गरिन्छ । त्यसपछि हरेक देशलाई बर्गिकृत ग्रीनकार्डका ५ वटा आधारहरुलाई आफुले बर्षेनी निवेदन गर्न पाउने ७ प्रतिशत अर्थात अत्याधिक संख्या ९ हजार ८ सयलाई नियम बमोजिम सदुपयोग गर्न सकिन्छ ।’

अमेरिकामा बर्षेनी १ लाख ४० हजारवटा रोजगारीमा आधारित ग्रीनकार्डको कोटा संसारभरका मुलुकलाई उपलब्ध हुने भएपनि त्यसका लागि केही मापदण्डहरु पुरा गर्नुपर्छ । ईबी वानको प्राथमिकतामा पर्ने व्यक्तिहरु असाधारण प्रतिभा भएको हुनुपर्छ । कला, खेल लगायतका क्षेत्रमा विशेष क्षमता भएकाहरु, उत्कृष्ट प्राध्यापक र अनुसन्धान कर्ताहरु ले १ लाख ४० हजारको २८.६ प्रतिसत अर्थात ४० हजारसम्म ग्रीनकार्ड पाउछन् । यसमा नेपालको कोटामात्र २८ सय २ हुन आउछ । इबी टुको प्राथमिकतामा पर्ने व्यक्तिहरु उच्च श्रेणीका डीग्री भएका व्यवसायीहरु र असाधारण प्रतिभा भएका व्यक्तिले पनि १ लाख ४० हजारको २८.६ प्रतिसत अर्थात ४० हजार सम्म ग्रीन कार्ड पाउँछन् । यसमा पनि नेपालको कोटामात्र २८ सय २ हुन आउछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com