अष्ट्रेलियन नागरिकतामा कडाई, पीआर पाएको ४ वर्षपछि मात्रै आवेदन दिन पाइने


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा कडाई गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले बिहीबार चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेका छन् ।
अष्ट्रेलियन मूल्य मान्यतालाई आत्मसाथ गर्नसक्ने र अँग्रेजी भाषा क्षमताको कडा परिक्षणको प्रकृया अपनाइने प्रधानमन्त्री माल्कम टर्नबलले बताएका हुन् ।

केही दिनअघि विदेशी दक्ष कामदारहरुलाई प्रदान गर्दै आएको ४५७ भीषा खारेज गरेलगत्तै अष्ट्रेलिया सरकारले नागरिकता वितरण गर्ने नियममा परिवर्तन गरेको हो । नयाँ नियमअनुसार अब नागरिकता लिन चाहनेहरुले अनिवार्य रुपमा अंग्रेजीको जाँच दिनुपर्ने छ भने पीआर पाएपछि पनि कम्तीमा ४ बर्षसम्म नागरिकता लिनका लागि पर्खनुपर्नेछ । अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरुसँग सहजरुपले घुलमिल भएपछि मात्र नागरिकता दिनका लागि भन्दै यो नियम जारी गरेको छ ।

अहिलेको नियमअनुसार योग्यता पुगेका विदेशी नागरिकहरुले स्थायी बासिन्दाको अनुमती पीआर पाएको एक बर्षपछि नै अष्ट्रेलियाको नागरिकताका लागि आवेदन दिन पाउँथे भने सामान्य अंग्रेजी बिषयको जाँच दिए पुग्थ्यो । अब भने अँग्रेजी भाषामा बोल्ने, लेख्ने, सुन्ने र पढ्ने क्षमताको कडा परिक्षण गरिनेछ ।

त्यस्तै नागरिकताका लागि जम्मा ३ पटकसम्म मात्र परिक्षा दिन पाइनेछ भने कसैले जालसाजी गरेर परिक्षामा उत्तिर्ण हुन खोजेमा स्वत अनुत्तिर्ण गराइनेछ । त्यस्तै कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्तिलेमात्र अष्ट्रेलियाको नागरिकता प्राप्त गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com