साउदीको आममाफीका लागि भन्दै कामदारबाट पैसा असुल्ने नेपाली पक्राउ


प्रकाशित मिति : बैशाख ३, २०७४ आईतबार

साउदीले दिएको आममाफी अभियान अन्तरगत पीडितबाट पैसा लिएको भन्दै एक नेपालीलाई नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ ।

अभियानमा सहयोग गर्न गठन गरिएको समितिका सदस्य तथा प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष परशुराम मिश्रलाई प्रहरीको जिम्मा लगाइएको हो ।

दूतावासका अनुसार मिश्रले आममाफीको अवसरमा नेपाल फर्कन चाहने पूर्णधन राई, रामथापा मगर र कमानसिंह थापासँग ६ हजार रियाल झण्डै एक लाख ८० हजार रुपैयाँ लिएको पुष्टि भएको छ । मिश्रले पीडितबाट रकम लिएको स्वीकार गरेका दूतावासले जनाएको छ ।

साउदीको रियादमा व्यवसाय गरी बस्ने मिश्रले चाँडै नेपाल फर्काइ दिने लोभ देखाएका थिए । मिश्र साउदीमा कार्गो व्यवसाय समेत सञ्चालन गर्छन् । उनलाई दूतावासमा उपस्थित गराई पीडित पक्षको उपस्थितिमा बयान लिइएको थियो ।

दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘यस्ता खालका क्रियाकलापमा संलग्न भई दूतावासलाई बदनाम गराउन खोज्ने पात्रहरूसँग सबै जना सजग रहन र यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने अभियानमा हामीलाई सहयोग गर्नु हुन सबैमा अनुरोध छ ।’

पक्राउ परेका मिश्र तीन दशक भन्दा अघिदेखि साउदीमा बसोबास गरिरहेका छन् । उनले त्यहाँ नेपालीहरू माझ समाजसेवीको छवि समेत बनाएका थिए ।
प्रवासी नेपाली मञ्च साउदी अरबले मिश्रलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेको छ । पीडित नेपालीलाई सहयोग गर्नुको सट्टा आममाफीको दुरुपयोग गरेकाले कारवाही गर्नु परेको मञ्चले जनाएको छ ।
उज्यालो खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com