बिस्केट जात्राको लिंगो भाँचियो, एकको मृत्यु, अनिष्टको संकेत !


प्रकाशित मिति : बैशाख १, २०७४ शुक्रबार

-दीपेन्द्र ढुंगाना (सबै तस्विर)

भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाचिँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अन्दाजी ३४ वर्षका एक व्यक्ति रहेको र पहिचान हुन नसकेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईले बताए । लिङ्गो भाचिएर घाइते भए लगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनु अघि नै ज्यान गएको थियो ।

पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सूर्यविनायक ६ बस्ने वर्ष २२ का सुमन तज, च्यामासिंह लिवाली बस्ने वर्ष ५० का रामकृष्ण दुवाल, भनपा ११ बस्ने वर्ष ४८ का बालकृष्ण लिला, कमलविनायक बस्ने वर्ष ५३ का कृष्णभक्त दुवाल र नासमनाका वर्ष २८ का सुरेन्द्र कैती रहेको जानकारी दिए ।

बिहीबार बेलुका भक्तपुर नगरपालिका भेलुखेल स्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उठाउने क्रममा अचानक भाँचिएको थियो ।

लिङ्गो भाँचिए पछि स्थानीय बासिन्दाले अर्को लिङ्गो उठाउने प्रयास गरिरहेका छन् । राति ९ बजेसम्म अर्को लिङ्गो उठाउने क्रम जारी रहे पनि लिङ्गो उठेको छैन । स्थानीय बासिन्दाका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको संकेतको रुपमा लिने गरिएको छ ।

गुठी संस्थान भक्तपुरले लिङगो भाचिएमा अर्को लिङ्गो उठाउनका लागि बिकल्पको रुपमा दुईवटा लिङ्गो ल्याउने गर्दछ । लिङ्गो भक्तपुरको चित्तपोल स्थिल सल्लाघारी जंगलबाट तान्त्रिक बिधि अनुसार पुजा गरेर ल्याउने गरिन्छ।

चैत मसान्तको दिनमा लिङ्गो उठाएर आज वैशाख १ गते नयाँ वर्षका दिन भव्य बिस्केट जात्रा मनाएर बेलुका लिङ्गो ढाल्ने परम्परा रहेको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ ।

भक्तपुरको प्रसिद्घ जात्राहरू मध्य विस्केट जात्रालाई प्रमुख रूपमा लिने गरिन्छ। भैरवनाथको प्रतीक मानिने लिङ्गो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ढालिन्छ। विस्केट जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा ठड्याइन्छ। पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ।

पूजाअर्चनाकासाथ ढालिने लिंगो आफैमा ढलेमा भने अनिष्टको संकेत मानिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com