अमेरिकी कामदार भिसा कडा गर्न नयाँ मापदण्ड, कति नेपाली कामदार भिसामा ?


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा कडाई गर्न नयाँ मापदण्डहरुको घोषणा गरेको छ । एचवानबी भिसाको दुरुपयोग भएको र नक्कली भएको भन्दै युएससीआईएसले भिसा फ्रड र दुरुपयोग रोक्न नयाँ मापदण्डहरुको घोषणा गरेको हो ।

अमेरिकी कम्पनीहरुले योग्य कामदारको देशभित्र अभाव रहेको अवस्थामा अति दक्ष विदेशी कामदारहरुलाई रोजगार दिनसक्ने अवधारणासहित एचवानी भिसाको प्रावधान राखिएपनि दक्ष अमेरिकी कामदारहरुलाई समेत वेवास्ता गरिएको युएससीआईएसले जनाएको छ । अमेरिकामा सस्तो श्रमका लागि अमेरिकी योग्य कामदारलाई वेवास्ता गरेर विदेशबाट कामदार झिकाइने गरिएको छ ।

गत सातादेखि लागु हुनेगरी अमेरिकी सरकारले भिसाको दुरुपयोग रोक्न नयाँ मापदण्डहरुको घोषणा गरेको हो । जसअन्तरगत अमेरिकी सरकारका अधिकारीहरुले एचवानबी कामदारले काम गर्ने स्थान र एचवानबी कामदारका लागि आवेदन दिएका कम्पनीहरुको भ्रमण गरेर थप छानविन र अनुसन्धान गर्ने भएका छन् ।

व्यापारिक रुपमा प्राप्त तथ्यांक अनुशार रोजगारदाताको आधारभूत सुचनाप्राप्त गर्न नसकेमा, एचवानबी भिसामा रहेकाहरुले डिपेन्डेन्टका लागि आवेदन दिएमा, रोजगारदाताले कम्पनी रहेको स्थानभन्दा बाहिर वा अन्य स्थानमा कामका लागि एचवानबी आवेदन दिएमा कम्पनीस्थलको भ्रमण गरेर थप छानविन गरिने भएको छ । यदि भिसाको दुरुपयोग भएको पाइएमा त्यस्ता मामलाहरु युएससीआईएसले थप अनुसन्धानका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससमक्ष पठाउने छ ।

कति छन् नेपालीहरु ?

अमेरिकामा एचवानबी भिसामा रहेका र उनीहरुका डिपेन्डेन्ट नेपालीहरु झण्डै ३ हजारको हाराहारीमा रहेका छन् । सन् २०१५ (आ.ब.) मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरुको संख्या १२४४ रहेको थियो भने त्यो भन्दा धेरै संख्यामा उनीहरुका डिपेन्डेन्टहरु रहेका थिए ।

त्यस्तै सन् २०१४ मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरु ११२७ जना रहेका थिए भने सन् २०१३ मा १०१८ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । सन् २०१२ मा १०३० नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए भने सन् २०११ मा १०४३ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । त्यस्तै सन् २०१० मा ९९१ नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए ।

पहिलोपटक तीनवर्षका लागि एच वान बी भिसा प्राप्त हुने र त्यसपछि थप तीनवर्षका लागि रिन्यु गर्न पाइने भएका कारण सन् २०११ मा पहिलोपटक एचवान बी भिसा प्राप्त गर्नेहरु समेत अहिलेसम्म भिसाबाहक विदेशी कामदारका रुपमा गनिन्छन् । हाल हरेक वर्ष ८५ हजारले एचवान बी भिसा प्राप्त गर्नसक्ने अमेरिकी कोटा रहेको छ । ६५ हजार नियमित र २० हजार अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले एच वान बी भिसा प्राप्त गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com