हिन्दु र बौद्ध धर्मालम्बीका साझा देवताको रथयात्रा आज समापान


प्रकाशित मिति : चैत्र २६, २०७३ शनिबार

– दीपेन्द्र ढुंगाना (सबै तस्विर)

काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको सेतो मच्छिन्द्रनाथको रथयात्राको आज समापनको दिन हो ।
 

सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ ।

पहिलो दिन काठमाडौँको दरबारमार्ग नजिकै रहेको तीनधारा पाठशाला अगाडिको सडकबाट सुरु भई रथयात्रा घण्टाघर, रत्नपार्क आकाशे पुल छेउबाट असन भोटाहिटी हुँदै असनमा लगिएको थियो ।

त्यसपछि असनबाट हनुमानढोका हुँदै लगन लगेर मच्छिन्द्रनाथकी आमाको मन्दिरमा तीन पटक रथ परिक्रमा गरेपछि यात्रा समापन हुन्छ ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा बर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहराएर जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।

सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ। उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन् ।

धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com