सगरमाथामा पर्यटकहरु बढ्दै


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ ।

जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिन थालेको जनाइएको हो । अहिले दैनिक १०० को हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेको पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायीहरु बताउँछन् ।

ट्रेकिङ मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन् । केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन् । मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ ।

हिमाल चढ्ने मौसमको रुपमा चिनिने यो मौसमका लागि आइसफल डाक्टर बाटो बनाउन सगरमाथा आधार शिविरमा पुगिसकेका छन् भने आरोही पनि आउने क्रम सुरु भएको छ । सगरमाथा क्षेत्रमा एकदेखि दुई महिना बिताएर वातावारणसँग स्वास्थ्यको अनुकूल मिलाउनुपर्ने भएकाले एकरदुई महिनाअघि नै आरोही आउने क्रम सुरु हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com