सगुनमा १५ सय भन्दा धेरैबाट डेढ मिलियन डलर लगानी भइसक्यो :: गोविन्द गिरी, संस्थापक, सगुन

सगुनले खोलेको मिनी आईपीओबारे विस्तारमा बताइदिनुहुन्छ कि ?

मिनी आईपीओ भनेर मिडियाले प्रयोग गर्दै आएपनि यसको प्राविधिक शब्द रेगुलेशन ए प्लस हो । ओबामा प्रशासनले सन् २०१२ मा बनाएको कानुन हो यो । ८० बर्ष यता जतिपनि माइक्रोसफ्ट हाइटेक कम्पनीहरु आए, केवल धनीहरुले मात्र स्टार्टअपमा लगानी गर्न पाए । ती कम्पनीहरु पूर्ण आईपीओका रुपमा स्टक मार्केटमा सुचिकृत भएपछिमात्र आम सर्वसाधारणहरुले लगानी गर्न पाउँथे । त्यतिबेलासम्म शेयर किन्दा धेरै फाइदा नहुने र मूल्य धेरैमाथि पुगेको हुन्थ्यो । तर पछि त्यो कानुन परिवर्तन भयो ।

प्रगतिको क्रममा रहेकय साना स्टार्टअप कम्पनीहरुले पनि पब्लिकबाट लगानीबापत रकम संकलन गर्न पाउने कानुन हो यो । पूर्ण आईपीओमा जानेहरुले जानेहरुले जतिपनि रकम उठाउन पाउँछन् भने मिनी आईपीओ अन्तरगत स्टार्टअप कम्पनीहरुले ५० मिलियनसम्म संकलन गर्न पाउँछन् । प्रकृयाको हिसाबले गुगल, फेसुबुकले जसरी आवेदन दिएका थिए, हाम्रो पनि त्यही नै हो । मिनी आईपीओबाट थोरै कम्पनीहरु खुल्ला स्टक मार्केटमा पनि गएका छन् । तर हामी प्रारम्भिक चरणमा रहेकाले खुल्ला शेयर बिक्रिमा नगई फण्डरेज गर्ने ढंगले अगाडि बढेका छौं ।

खुल्ला स्टक मार्केटमा शेयर किन्नु र मिनी आईपोबाट किन्नुमा के फरक छ ?

अहिलेसम्मको इतिहासमा खुल्ला स्टक मार्केटमा जाने पूर्ण आईपीओ हो । कम्पनीहरु उच्च बिन्दुमा पुगेपछि उनीहरुको आम्दानी बढेपछि खुल्ला स्टक मार्केटमा जान्छन् । एउटा अवस्थामा पुगेपछि उनीहरु खुल्ला स्टकमा जान्छन् । उदाहरणका लागि स्न्याप च्याट ९० बिलियन डलरमा पूर्ण आईपीओमा जाँदैछ, जसले ४० डलर प्रति शेयर मुल्य राखेको छ । ९० बिलियन डलर भनेको उच्च बिन्दु हो ।

त्यसमा सर्वसाधारणहरुले किन्दा धेरै फाइदा नहुनसक्छ । तर सगुन अहिले ९३ मिलियनमा आईपीओमा गएको छ । यो पाँचदेखि सातबर्षमा ९० बिलियन हुनेसम्भावना छ । अहिले लगानी गर्नेहरुलाई निकै धेरै फाइदा हुनपुग्छ । त्यसैले यसको उद्देश्यमा धेरै फरक छ । सगुन प्रारम्भिक चरणमा भएकाले लगानीकर्तालाई उच्च जोखिम छ । तर उच्च फाइदा हुने सम्भावना पनि छ ।

सगुनको शेयर कहिलेसम्म खुल्ला स्टक मार्केटमा किनबेच होला ?
हामी कानुनी हिसाबले अहिले नै आवेदन दिएर खुल्ला स्टक मार्केटमा जानका लागि योग्य छौं । तर हाम्रो रणनीति भनेको कम्तीमा कम्पनीको भ्यालु १ बिलियन डलर बनाएपछि जाने रहेको छ । हाम्रो हिसाबमा २०१८ को अन्त्यसम्ममा हामी त्यो मूल्य बनाउँछौं । अहिले लगानी गर्नेहरुले पनि त्यही अनुशार नै रिर्टन पाउनुहुनेछ । सन् २०१८ को अन्त्यतिर हामी खुल्ला स्टक मार्केटमा जानेछौं ।

तोकिएको शेयर बिक्रि भएन भने त लगानीकर्ताहरु घाटामा जानसक्ने भए नि त ?
यसको बुक भ्यालु र मार्केट भ्यालु हुन्छ । लगानीकर्ताहरुले स्टार्टअप कम्पनीमा त्यसरी हेर्ने होइन । यसमा शेयर मुल्य कति छ भन्ने कुराको पनि मतलव हुँदैन । सगुन प्रतिशेयर मुल्य पाँचसय डलर पनि राख्न सक्छ, दुईडलर पनि राख्न सक्छ । जस्तो अहिले सगुनको मुल्य ९३ मिलियन रहेको बेलामा १० हजार डलर लगानी गर्दा सन् २०१८ मा सगुनको भ्यालु १ बिलियन डलर हुँदा त्यो लगानी कति बढ्यो भन्ने कुरा मुख्य हो । हाम्रो मात्र नभई ठूलो आईपीओमा जाँदा बुक भ्यालु र मार्केट भ्यालुमा फरक हुन्छ ।

मिनी आईपीको खोलेपनि अहिलेसम्म कति लगानी भइसक्यो ?

अहिलेसम्म १ दशमलव ५ मिलियन लगानी भइसकेको छ । १५ सय भन्दा धेरैले लगानी गरिसकेका छन् । पहिलोमा अमेरिकाबाट र दोश्रोमा भारतबाट लगानी भएको छ । युएई, कोरिया, जापान र मध्यपूर्वबाट लगानी भइरहेको छ । अमेरिकाले इरान, नर्थ कोरिया जस्ता देशबाट लगानी स्वीकार गर्दैन । तर नेपालबाट अमेरिकाले लगानी स्वीकार गर्छ । यद्यपी नेपालको कानुनले नेपालको रकम अमेरिकामा लगानी गर्न स्वीकृती दिदैन । यसर्थ नेपालबाट कुनै पनि नेपालीहरुले सगुनमा लगानी गर्न मिल्दैन । ब्रोकर डिलर र एजेण्टमार्फत बिक्री भइरहेको छ ।

हामीले बिक्रि गरिरहेका छैनौं, मार्केटिङमात्र गरिरहेका छौं । हामी आफैलाई बिक्री गर्ने अनुमति पनि छैन । नेपालबाट कतै लगानी भएमा हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो । अमेरिकी कानुन अनुशार नेपालबाट लगानी गर्न स्वीकृति भएकाले हामीले लगानी भइहाल्यो भने अस्वीकार गर्न मिल्दैन । त्यो नेपालको कानुनले नियन्त्रण गर्ने कुरा हो । नेपालबाहिर अरु देशहरुमा रहेका नेपालीहरुले स्थानीय कानुनले स्वीकृति प्रदान गरेको खण्डमा लगानी गर्न सक्छन् । मध्यपूर्व वा कोरियामा बस्ने नेपालीहरुले अहिले लगानी गरेर केही बर्षमा नेपाल फर्केपनि उनीहरु शेयर किनबेच गर्न पाउँछन् । त्यो बेलामा व्यक्ति जहाँ हुन्छ, उसको रकम त्यही ट्रान्सफर गरिन्छ । तर जुनदेशमा गएको हुन्छ, त्यहाँको कानुन अनुशार इन्कम ट्याक्स तिर्नुपर्छ ।

सगुनको लगानीको विषय पछि युजर एकाउन्टको प्रसंगमा जाऔं, सगुनमा किन युजर एकाउन्ट खोल्ने ?

अहिले हामीले योजना गरे अनुशारको उत्पादन अहिले नै हामीसँग छैन । अहिले हामीले भिजन बेचिरहेका छौं, उत्पादन बेचिरहेका छैनौं । मेरो अनुभवमा सिलिकन भ्यालीका तिनै कम्पनीहरु सफल भएका छन् जसले कपी, क्रियट र ग्रोथको शुत्र अपनाएका छन् । पहिले कपी गर्नुपर्छ, त्यसपछि आफूले क्रियट गरेर ग्रोथ गर्नुपर्छ । हामीले हुबहु कपी गर्न त खोजेका छैनौं तर सामाजिक संजालमा उपलब्ध कन्सेप्टलाई हामीले समिश्रण गर्न खोजेका छौं । तर हाम्रो दीर्घकालिन लक्ष्य निकै फरक छ । सामाजिक मिडियामा फेसबुकले हरेक व्यक्तिलाई मनोवैज्ञानिक रुपमा सिलेब्रेटी बनाइरहेको हुन्छ, जसका कारण अर्को प्रयोगकर्तामा चिन्ता र डिप्रेशन पनि सृजना गरिरहेको हुन्छ । अरुले गरेको राम्रो देख्ने र आफूलाई हिनताबोध हुने समस्या हुन्छ ।

यो एकदमै ठूलो समस्याका रुपमा आएको छ । सोसल मिडियाबाट मान्छे टाढा बस्न पनि सक्दैन । हामीले सोसल मिडियामा रहेका नकारात्मक पाटालाई कम गरेर नयाँ तरिकाले जान खोजेका छौं । सोसल मिडियामा परिवार, साथीभाई र सहकर्मीबीच देखिएको दुरी कम गरेर सम्बन्ध विस्तार गर्ने हाम्रो योजना छ । कनेक्ट, शेयर र अर्नको बिजनेश मोडल छ हाम्रो । हामीले परिवार, साथीभाई र सहकर्मीबीच इमोशनल कनेक्ट राख्नेछौं । शेयरको सन्दर्भमा हामीले तस्विर शेयर नभई ज्ञानको शेयर मुख्य उद्देश्य हो । तेश्रो अर्नको पक्ष हो । प्रयोगकर्ताले समय दिंदा कम्पनीले गरेको कमाईबाट प्रयोगकर्तालाई आम्दानी शेयर गर्नेछौं । हामीले विभिन्न टुलहरु विकाश गरेर प्रयोगकर्ताले पनि आम्दानी गर्नसक्ने प्रणाली विकाश गर्नेछौं । हामीले गिफ्ट कार्ड र र कुपनको प्रजेक्ट ल्याउँदैछौं ।

अमेरिकामा कैयन गिफ्टकार्डहरु प्रयोग नभई त्यत्तिकै खेर जाने गरेका छन् । हामीले सोसल स्मार्टकार्ड बनाएर जतिपनि गिफ्टकार्डलाई एकैठाउँमा ल्याएर एउटै कार्ड बनाउनेछौं । कतै सामान किन्दा प्राप्त हुने कुपन पनि खेर जाने गर्छ । तर त्यो कुपन आफन्त र साथीभाईहरुलाई बाड्दा उसले त्यसको प्रयोग गर्न पाउँछ । हामी त्यसको विकाश गर्दैछौं ।

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook